कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सुजिता भण्डारी मृत्यु प्रकरण

प्रहरीको दाबी– ‘नातेदारसँग थियो सुजिताको प्रेम सम्बन्ध’

आत्महत्या दुरुत्साहनमा ठूलो बुबाको छोरा पक्राउ
रमेशकुमार पौडेल

चितवन — सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको छ । सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको दाबी– ‘नातेदारसँग थियो सुजिताको प्रेम सम्बन्ध’

घटनाको बारेमा जानकारी दिन चितवन प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा घटनाका मुख्य अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको बताए ।

‘सुजिता भण्डारी दिदीकोमा जान्छु भनेर काठमाडौं गएको र सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको देखिन्छ,’ डिएसपी रानाले भने । विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अपहरणमा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत खुल्न आएको डिएसपी रानाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

‘असार ९ गते सुजिता र सुकदेवबीच टेलिफोन सम्पर्क भएको देखिन्छ । त्यो क्रममा सुजिताले बिहे गर्न भनेको, सुकदेवले नमानेको र विवाद हुँदा सुजिताले मर्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको छ,’ डिएसपी रानाले भने । काठमाडौंमा केही समय दिदीको घरमा बसेकी सुजिता कोठा खोजेर सुकदेवसँग पनि केही समय सँगै बसेको रानाले बताए ।

सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजु भाइ भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए । सुजिताका बुबा कान्छा र सुकदेवका बुबा उनीभन्दा माथिको रहेको एसपी अधिकारीको भनाइ छ । नुवाकोट पुर्ख्यौली थलो भएका उनीहरुमध्ये सुजिताको बुबा चितवन र सुकदेवका बुबा झापा शरणामति गएको उनले जानकारी दिए ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो । सुजिताको काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुलेन । कारण पत्ता लगाउन भिसेरा परीक्षणका लागि नमुना बुझाइएको छ ।

चितवन प्रहरीले पोस्टमार्ट रिपोर्ट र भिसेरा परीक्षण रिपोर्ट दुवै नआएको बतायो । एसपी ओम अधिकारी चाँडै नै दुवै प्रतिवेदन प्राप्त हुने बताउँछन् । पोस्टमार्टमा संलग्न एकजना चिकित्सक डा. गोपाल चौधरीले मृतकको शरीरमा प्राणघातक घाउ चोट नभएको बताए । त्यसैले भिसेरा परीक्षण आवश्यक भएको उनको भनाइ छ । भिसेरा परीक्षणका लागि नमुना खुमलटारको विधि विज्ञान प्रयोगशालामा पठाइको छ ।

सुजिता हराएको दिन वा त्यसपछि पनि सुकदेव चितवन आए नआएका बारेमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । २३ वर्षकी सुजिता घरबाट निस्केपछि मध्याह्न दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन् । मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको शव घरदेखि उत्तरको जंगलमा भेटिएको थियो ।

शव नजिकै हरियो सानो बोत्तलमा सेतो झोल भेटिएको थियो । त्यो झोल धानमा लाग्ने पतेरोको विषादी भएको मृतकका बुबाले नै बताएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको भनाइ छ । शव भेटिएको दिनदेखि नै स्थानीयले घटनाको यथार्थ विवरण चाँडै सार्वजनिक गर्न र दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए । सुजिताको साउन ४ गते मात्र अन्त्येष्टि भएको थियो ।

प्रकाशित : श्रावण ८, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?