कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि

रमेशकुमार पौडेल

चितवन — जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि

पूर्वी चितवन राप्ती नगरपालिका–३ प्रगति टोलकी २३ वर्षीया सुजिताको प्रहरीले तदारुकताका साथ खोजतलास नगर्दा हत्या भएको भन्दै दोषी गिरफ्तार नहुँदासम्म शव नबुझ्ने परिवार र स्थानीयले अडान लिएका थिए । ‘शनिबार मात्रै प्रशासन र परिवारका सदस्यबीच यो विषयमा छलफल भएको थियो । प्रशासनबाट आश्वस्त भएर नै होला उहाँहरुले शव बुझेर सदगद पनि गर्नुभयो,’ राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले भने ।

सुजिताको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । शरीरमा ज्यानै जाने घाउ चोटहरु नदेखिएपछि चिकित्सकले भिसेरा परीक्षणका लागि नमुना पठाएका छन् । प्रहरी त्यही भिसेराको रिपोर्टको प्रतिक्षामा छ । अनुसन्धानको नतिजा र भिसेरा परीक्षण प्रतिवेदनलाई आधार मानेर घटनाको विवरण सार्वजनिक गर्ने योजनामा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । मध्याह्न उनको दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन् । मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको शव घरदेखि उत्तरको जंगलमा भेटिएको थियो । शव नजिकै हरियो सानो बोतलमा सेतो झोल भेटिएको थियो ।

त्यो झोल धानमा लाग्ने पतेरोको विषादी भएको घटनास्थलमा रहेका मृतकका बुबाले नै बताएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको भनाइ छ । स्थानीयले घटनाको यथार्थ विवरण चाँडै सार्वजनिक गर्न र दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दै आएका छन् । शनिबार प्रशासनमा भएको छलफल सुन्दा यही हप्ताभित्रै केही नयाँ कुरा सार्वजनिक हुने सम्भावना देखिएको राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले बताए ।

प्रकाशित : श्रावण ४, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?