प्राविधिक शिक्षाले गाउँमै रोजगारी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राविधिक शिक्षाले गाउँमै रोजगारी

प्रताप विष्ट

हेटौंडा — एसएलसीमा अनुत्तीर्ण हुँदा मकवानपुरगढी गाउँपालिका–५ की मनमाया थिङमा पीडा मात्रै थिएन, अब के गर्ने भन्नेमा अन्योल पनि थियो । तर उक्त पीडालाई अहिले उनले बिर्सिसकेकी छन् । कारण जेटीएको पढाइ सकाएर उनी जागिर गर्दै छिन् ।

२०६९ मा हेटौंडा उपमहानगरपालिका–१६ हटिया चिसापानीस्थित जनप्रिय माविमा एसएलसी फेल भएकाले पनि जेटीए पढ्न पाउने सूचना रेडियोमा सुनेपछि उनी भर्ना भएकी थिइन् । १८ महिने जेटीएको पढाइ सकाएर उनी हाल गाउँमै एक गैरसरकारी संस्थामा कार्यरत छिन् । उनी गाउँका किसानलाई खेती गर्ने तरिका सिकाउँछिन् । आफैं पनि व्यावसायिक तरकारी खेतीमा जुटेकी छन् । जनप्रियमै जेटीए पढेका हेटौंडा–१ का दिलबहादुर रुम्बाले पनि रोजगारीका लागि सहर/बजार चहार्नुपरेन ।

एसएलसीमा फेल भएपछि आत्महत्याको प्रयास गरेका कैलाश गाउँपालिकाको डाँडाखर्कका नवीन गुरुङलाई अहिले त्यतिबेला किन त्यस्तो कदम चालेछु भन्ने लाग्छ । ‘एसएलसीमा फेल भए पनि १८ महिने जेटीए पढेपछि जागिर पाइएको छ,’ उनले भने, ‘सीपबिनाको पढाइ काम रहेनछ, बल्ल बुझेको छु ।’ अहिले उनी थाहा नगरपालिकाको वज्रबाराहीमा जागिर गर्छन् ।

लोपोन्मुख वनकरिया समुदायकी सन्तोषी वनकरियाले पनि जनप्रियबाटै जेटीए पास गरेर गाउँमै रोजगार छिन् । यो समुदायबाट जेटीए पास गर्ने उनी पहिलो छात्रा हुन् । यसैगरी, राक्सिराङ गाउँपालिका–६ का तीन जना चेपाङ छात्रा पनि एक गैरसरकारी संस्थाको सहयोगमा जेटीए अध्ययन गरिरहेका छन् । हेटौंडा बजारबाट करिब ७ किलोमिटर दूरीमा रहेको यो विद्यालयले सीटीईभीटीको स्वीकृतिमा २०६२ देखि कृषि तथा पशु जेटीएको कक्षा सञ्चालनमा ल्याएको हो ।

यसबीचमा विद्यालयले करिब चार हजार प्राविधिक उत्पादन गरिसकेको प्रधानाध्यापक नमराज अर्यालले बताए । ‘यीमध्ये सबैजसो प्राविधिकले सरकारी तथा गैरसरकारी संस्थामा सहज ढंगले रोजगारी पाएका छन्,’ उनले भने, ‘केहीले आफैंले तरकारी खेती र पशुपालन गरिरहेका छन् ।’ भेटेरनरी पढेका केही विद्यार्थीले बोयर जातको बाख्रापालन र कुखुरापालन गरी मनग्य आम्दानी गरिरहेका उनले बताए ।

सरकारले जनप्रिय माविलाई नमुना विद्यालय घोषणा गरेको छ । योसँगै करिब १२ करोड रुपैयाँ लगानीमा कक्षाकोठा, सभाहल, प्रयोगशाला, छात्रावासलगायत संरचना निर्माण भइसकेको छ । यहाँ अहिले जेटीए, भेटेरनरी, कषि तथा इलेक्ट्रिकलको डिप्लोमा तहको पढाइ भइरहेको छ । प्राविधिकतर्फ मात्रै ४ सय विद्यार्थी रहेको अर्यालले बताए । ‘जसमध्ये आधाजसो विद्यार्थी मकवानपुरका र बाँकी २५ जिल्लाका छन्,’ उनले भने । अर्यालका अनुसार कृषि र पशुपालन अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गराउन गाई पालिएको छ भने तरकारीलगायत बाली पनि लगाउने गरिएको छ । विद्यालय परिसरमा अहिले करेला, बन्दा, लौका र काउली खेती गरिएको छ ।

उत्पादित तरकारी बजारमा लगेर बिक्री गरिँदै आइएको छ । प्राविधिक विषयबाहेक यो विद्यालयमा कक्षा १–१० सम्म १ हजार ६ सय ४० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : असार २९, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयमा धमाधम कम्प्युटर प्रयोगशाला

राजकुमार कार्की

सिन्धुली — सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर र इन्टरनेट जडान कार्यलाई तीव्रता दिइएको छ । हाल जिल्लाभर निषेधाज्ञा रहेकोले विद्यालय बन्द छन् । यसलाई अवसरमा बदल्दै संघीय सरकारको अनुदान र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो कार्य भइरहेको हो ।

सिन्धुलीको गोलन्जोर–४ स्थित बत्सला माविमा स्थापना गरिएको कम्प्युटर प्रयोगशाला । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृति माविले कम्प्युटर प्रयोगशाला स्थापना गरेको जनाएको छ । प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउन प्रयोगशाला सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । विद्यालयमा १८ वटा डेस्कटप कम्प्युटर र ८ वटा ल्यापटप खरिद गरी प्रयोगशाला निर्माण गरिएको छ । ‘विद्यार्थीहरूको भौतिक उपस्थिति हुनासाथ कम्प्युटर कक्षा पनि थालनी गरिनेछ,’ उनले भने ।

चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ५१ वटा सामुदायिक विद्यालयलाई ४ करोड ६० लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छनोट गरेका विद्यालयहरूमा कम्प्युटर प्रयोगशाला, कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणलगायतमा रकम खर्चिने भनिएको थियो ।

कमलामाईले अहिले माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना र इन्टरनेट जडानलाई अभियानकै रूपमा सञ्चालनगरिएको नगरपालिकी शिक्षा शाखा अधिकृत हितकुमारी पौडेलले बताइन् । कोरोना महामारीलाई लक्षित गरी अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयमा इन्टरनेट जडान गर्न संघीय सरकारबाट प्राप्त रकम १२ हजार रुपैयाँका दरले विद्यालयहरूमा पठाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार शैक्षिक सुधार कार्यक्रममा समेटिएका विद्यालयहरूले तोकिएबमोजिमको काम सम्पन्नको चरणमा पुर्‍याएका छन् । जिल्लामा ५ सय ७५ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : असार २९, २०७८ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×