कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

भर्‍याङ चढेर पुल वारपार

सिन्धुली — पुलबाटै वाग्मती नदी वारपार गरिन् तर उनलाई पुलसम्म पुग्न भने भर्‍याङ चढ्नुपर्‍यो । ‘वाग्मती नदीमा बाढी आएको छ,’ मकवानपुरको वाग्मती गाउँपालिका–४ की आशा थिङले भनिन्, ‘पुल त बन्यो तर वारपार गर्न भर्‍याङ चढ्ने र ओर्लने गर्नुपर्छ ।’

भर्‍याङ चढेर पुल वारपार

मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको वाग्मती–४ जोड्ने पुल निर्माण सुरु भएको १० वर्ष भइसक्दा पनि अझै पूरा भइसकेको छैन ।

बाढीमै हेलिएर वाग्मती वारपार गर्दै आएका स्थानीय यतिखेर भर्‍याङ हुँदै पुलसम्म पुग्छन् र नदी पार गर्छन् । यहाँका धेरैजसो स्थानीयको खेती र पारिवारिक साइनो नदी वारिपारि छ । गत वर्ष उत्पादन भएको मकै नदीमै हेलिएर भित्र्याएको स्मरण गर्दै आशाले भनिन्, ‘यसपालि पुलको भर्‍याङ अप्ठेरो हुँदा बोरामा हालेर बल्लतल्ल ल्याइयो, कहिले मोटर चल्ला र आनन्द होलाजस्तो भएको छ ।’ पुल निर्माण भएपछि अब भेलले बगाउला भन्ने पीर भने हटेको उनले सुनाइन् ।

पुल निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ । तर सवारीसाधन आउजाउ गर्न मिल्ने गरी पुलको दुवैतर्फको पहुँचमार्ग बनाइएको छैन । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार पुलको दुईतिर मुखमा दुइटा स्पान ढलान गर्न बाँकी छ । अझै तीन महिना गाडी गुड्न नसके पनि मानिस आवतजावत गर्न सक्ने बनाउने ठेकेदारले आश्वासन दिएको लामाले बताए ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार पुल २०६८ असार २९ मा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

प्रकाशित : असार २६, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×