कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले रोकिए इन्धन ट्यांकर

रमेशकुमार पौडेल

चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकाको बैरहनीमा बुधबार दिउँसो खाना पकाउने ग्यास बोकेका बुलेटहरू लामबद्ध थिए । नारायणगढ–मुग्लिङ सडकमा लगातार पहिरो खसेपछि धादिङ र काठमाडौंसम्म पुग्नुपर्ने बुलेटहरू त्यहीं रोकिएका हुन् ।

पहिरोले रोकिए इन्धन ट्यांकर

सडकमा ढुंगा खसिरहेको जानकारी आएको र बुलेटमा ढुंगाले लागे खतरा हुने देखेर जाने आँट नगरेको चालकहरूले बताए । सडक यात्राका लागि सहज भए खबर गर्न प्रहरीलाई भनेको र सूचना आएपछि मात्रै अगाडि बढ्ने उनीहरूको भनाइ छ । मंगलबारसम्म भरतपुरको केन्द्रीय बस टर्मिनलमा समेत डिजेल, पेट्रोल बोकेका ट्यांकर टन्नै थिए ।

नारायणगढ–मुग्लिङ सडकमा पहिरो खस्न सुरु भएको साता दिन नाघेको छ । पाँचकिलो (मुग्लिङदेखि नारायणगढतर्फ ५ किलोमिटर पर) मा असार १६ को बिहान पहिरो खसेर यातायात अवरुद्ध भयो । त्यसपछि चारकिलो (मुग्लिङदेखि) जलबिरे, केराबारी, चौधकिलो (नारायणगढदेखि) जस्ता ठाउँहरूमा लगातार जसो पहिरो खसे । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेती दोभानमा ठूलो पहिरो गयो ।

सेती दोभानको पहिरोले समस्या ल्याइरहेको छ । अन्यत्र पहिरो सफा भएर दुईतर्फी नै गाडी चल्न थाले पनि सेती दोभानमा लगातार जसो पहिरो खसिरहेको छ । यसैका कारण ठूला गाडीहरू सहज रूपमा ओहरदोहर गर्न सकेका छैनन् । ‘बुधबार करिब ७ हजार गाडी यो सडक खण्डबाट वारपार गरायौं,’ भरतपुर–१ रामनगरमा कार्यालय रहेको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले भने ।

‘एक–दुई दिन यसरी नै गाडी चलाउन सके सडक जाम गरेर बसेका सबै गाडी पार हुनेछन्,’ उनले भने, ‘तर सेती दोभानको अप्ठ्यारो अझै टरेको छैन ।’ उनका अनुसार बुधबार दुईतर्फी गाडी चल्न थालेको एक घण्टा नहुँदै पहिरो झरेको थियो । भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनाल सेती दोभानमा आउँदो हप्ता १० दिनसम्म पहिरोको पिरलो कायम रहने बताउँछन् ।

पहिरोले सडक थुनिएपछि ठूला–साना गाडीहरूको लाइन भरतपुर, नारायणगढका सडकसम्म पुग्ने गरेको छ । पहिरोग्रस्त सडकमा इन्धनका गाडी पठाउन जोखिम पनि हुन्छ । ‘तर काठमाडौं जाने गाडी र इन्धन बोकेका ट्यांकर, ग्यास बुलेटहरू सकेसम्म पठाउने भन्ने नै छ, अवस्था हेरी पठाएकै छौं,’ एसपी कोइरालाले भने ।

नारायणगढ–मुग्लिङ सडक संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने भरपर्दो मार्ग हो । ठूला मालवाहक गाडी र ग्यास बुलेटहरू यो सडकबाहेक अन्यत्रबाट सहजै काठमाडौं आउजाउ गर्ने सम्भावना छैन । तर पहिरोले सडक रोक्दा वारपार गर्न सबैभन्दा बढी कठिन यस्तै इन्धन बोकेका ठूला गाडीहरूलाई हुने गरेको छ ।

प्रकाशित : असार २४, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?