कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा उकालो लाग्दै संक्रमण

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेध आदेश खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । सोमबार परीक्षण गरिएकामध्ये १ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा उकालो लाग्दै संक्रमण

‘कोरोना संक्रमितको संख्या बढ्दै गएको छ,’ स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भने, ‘लकडाउन खुकुलो भएसँगै लापरबाही पनि बढेको छ, परीक्षण बढेको कारण पनि संक्रमितको संख्या बढेको हो ।’

वैशाख १९ गतेबाट जिल्लामा सुरु भएको निषेध आदेश ६५ दिनदेखि निरन्तर छ । थप १० दिन निषेधाज्ञा जारी भए पनि निजी, सार्वजनिक यातायात, विभिन्न पसल, व्यवसाय सञ्चालन भइरहेका छन् । असार ७ गतेदेखि निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासनले असार १४ देखि सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा चलाउन दिएको थियो । सार्वजनिक यातायातमा लगाएको जोरबिजोर प्रणालीसमेत असार २१ गतेबाट खारेज भइसकेको छ । सबै खाले पसल, व्यवसाय, सार्वजनिक यातायात समेत सञ्चालन भएका कारण जिल्लाका प्रमुख बजारमा मानिसको भीडभाड छ । आर्थिक वर्षको अन्त्य भएकोले बैंक, वित्तीय संस्था, सरकारी कार्यालयमा पनि भीड लाग्ने गरेको छ । मास्क, सेनिटाइजर, भौतिक दूरीजस्ता स्वास्थ्यका मापदण्डसमेत पालना भएका छैनन् ।

बारका आधारमा अन्य पसल व्यवसायसमेत सञ्चालन गर्न दिने गरी यसअघिको निर्णय परिमार्जन गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सबै खालका पसल, व्यवसाय सञ्चालन गर्न दिने निर्णय पनि जिल्ला प्रशासनले जारी गरेको आदेशमा छ । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय दैनिक सञ्चालन हुँदै आएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार, निषेधाज्ञा खुकुलो भएयता दैनिक संक्रमितको संख्या बढिरहेको छ । कुनै दिन ८ जनामा सीमित भएको संक्रमितको संख्या बढेर १ सय १२ पुगिसकेको छ । ३ सय ६७ मा सीमित भएको सक्रिय संक्रमितको बढेर पुनः ४ सय ८० पुगिसकेको छ ।

१ सय १९ सक्रिय संक्रमित रहेको बनेपामा सोमबार मात्रै २२ जना नयाँ संक्रमित थपिएका थिए । धुलिखेलमा ६७ जना, पाँचखालमा ६४ जना र पनौतीमा ५९ जना सक्रिय संक्रमित छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले निषेधाज्ञाको पूर्ण पालना, मास्क, सेनिटाइजर, भौतिक दूरी कायम गर्नु नै उपयुक्त विकल्प भएको सुझाव दिए ।

दोस्रो चरणको खोप

जिल्लामा ६२ देखि ६४ वर्ष उमेरसमूहकालाई मंगलबारबाट कोभिडविरुद्धको खोप लगाइएको छ । मंगलबारदेखि बुधबारसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासनक डा. नरेन्द्रकुमार झाले बताए । डा. झाका अनुसार, चार चरण गरी काभ्रेका ३९ हजार ६५ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । १४ हजार ९ सय ३१ जनाको दोस्रो खोप लगाएका छन् । ६० देखि ६५ वर्ष उमेर समूहलाई खोप लगाउने गरी तयारी थालिए पनि खोप अपर्याप्त भएपछि ६२ देखि ६४ वर्षसम्मकालाई मात्रै लगाउने निर्णय भएको थियो ।

स्वास्थ्य सेवा विभागले काभ्रेलाई दुवै डोजका लागि २३ हजार डोज खोप उपलब्ध गराएको छ । यसअघि सरकारले तोकेको मापदण्डअनुसार अग्रफंतिमा खटिने स्वास्थकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखेर खोप लगाइएको थियो ।

प्रकाशित : असार २३, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?