कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पतकरबाट कम्पोस्ट मल

सिन्धुली — कमलामाई नगरपालिका–५ मधुटारमा अध्ययन–अनुसन्धान केन्द्रको विकास गर्न कम्पोस्ट मल उत्पादन सुरु गरिएको छ । पहिलो चरणमा जंगलको पातपतकर, सोत्तर, काम नलाग्ने झारबुटालगायत जैविक वस्तु संकलन गरी कम्पोस्ट मल बनाउन थालिएको हो ।

योसँगै वडामा रहेका २७ वटा टोल विकास संस्थाको समन्वय समितिले भान्साबाट निस्कने कुहिने फोहोर संकलन गरी कम्पोस्ट मल बनाउने नगरपालिकाको योजना छ ।

फोहोर तह लगाउने र प्राङ्गारिक मल बनाई विषादीरहित अन्नबाली तथा तरकारी खेतीलाई प्रोत्साहन गर्नु नै मूल उद्देश्य रहेको कम्पोस्टिङ प्रदर्शन एवं उत्पादन केन्द्रका सचिव नवीन श्रेष्ठले बताए । ‘पातपतकर र भान्साबाट निस्कने फोहोर संकलन गरी त्यसबाट रसायनमुक्त मल उत्पादन गर्न लागि परेका छौं, उनले भने, ‘सफलता हात लागेमा अर्गानिक खेतीका लागि वरदान सावित हुनेछ ।’

कम्पोस्ट मल बनाउन टोल विकास संस्थाका पदाधिकारीहरूलाई तालिम दिइएको छ । जसअनुसार एक/एक घनमिटरका ३ खाल्डोमा मेसिनले टुक्र्याइएको पतकर, सोत्तर, भान्साबाट निस्कने फोहोर हाल्नुपर्छ । खाल्डोमा यम भनिने कुहाउने रसायन हालेर एक महिनासम्म छोप्नुपर्छ । बाहिरको हावा छिर्न पाइप राख्नुपर्छ । दुई महिनामा उक्त फोहोर धूलो भएर कम्पोस्ट मल बन्ने स्थानीय भगवती श्रेष्ठले सुनाइन् । उक्त मल प्याकिङ गरेर बिक्री पनि गर्न सकिन्छ । उत्पादनलाई व्यावसायिक बनाउन सके आम्दानीसमेत हुने उनको भनाइ छ ।

मधुटारलाई नगरले प्लास्टिकजन्य फोहोर निषेधित क्षेत्र घोषणा गरेकाले बाहिरी जिल्लाबाट हेर्न आउनेका लागि अध्ययन–अनुसन्धान केन्द्र बनाउन मल उत्पादन सुरु गरिएको नगरपालिकाको वातावरण शाखाका प्रमुख सागरकुमार ढकालले बताए । गर्मीयाममा जंगलमा झरेका सुकेका पातलाई संकलन गरी कम्पोस्ट मल बनाउँदा आगलागी नियन्त्रणमा समेत सघाउ पुग्ने उनको दाबी छ । यसरी उत्पादित मल बिक्रीका लागि नगरपालिकाले सहजीकरण गर्ने उनले बताए ।

नगर प्रमुख खड्गबहादुर खत्रीले कमलामाईलाई अर्गानिक उत्पादनको हब बनाउन मल उत्पादन कारखाना सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । ‘यसको सफलतासँगै अन्य वडामा अझ ठूलो परिमाणमा मल उत्पादन गर्ने कारखाना खोलिनेछ ।’

प्रकाशित : असार २१, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×