२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

चितवनमा पहिरोमा परिएर दुईको मृत्यु, ३ बेपत्ता

चट्याङ लागेर एकको मृत्यु
रमेशकुमार पौडेल

चितवन — लगातारको वर्षापछि आएको पहिरोमा परेर चितवनका दुई ठाउँमा दुईजनाको मृत्यु भएको छ । थप तीनजना बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवनमा पहिरोमा परिएर दुईको मृत्यु, ३ बेपत्ता

त्यसैगरी चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरको पर्खालमा बिहीबार पहिरोले दुईवटा घर र एउटा गोठ बगाएको छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार पहिरोले घर बगाउँदा चारजना मानिस बेपत्ता भएका थिए । तीमध्ये एकजना पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको र अरु विवरण नआएको डीएसपी थापाले बताए । त्यसैगरी गोठमा रहेका १६ वटा गाइ गोरु र १६ वटा बाख्रा पनि बगेको उनले जानकारी दिए ।

जिल्लाको अर्को पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ पनि पहिरोमा पुरिएका छन् । डीएसपी थापाका अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा उनी पुरिएका थिए । बिहीबार दिउँसो दुई बजेतिर उक्त घटना भएको थियो । उनको शव पहिरो गएको ठाउँभन्दा करिब एक किलोमिटर तल घैयाबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । ४५ वर्षीया बिजुलीमाया श्रेष्ठलाई आफ्नै घर नजिक खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १७, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?