कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

हेटौंडामा डायलाइसिस केन्द्र स्थापना, नि:शुल्क सेवा सुरु

सुवास विडारी

मकवानपुर — हेटौंडामा मिर्गौलाका बिरामीहरूका लागि नि:शुल्क डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा अस्पतालले दैनिक १० जनालाई सेवा दिने उद्देश्यका साथ डायलाइसिस सेवा सुरु गरेको हो ।

हेटौंडामा डायलाइसिस केन्द्र स्थापना, नि:शुल्क सेवा सुरु

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलासिस सेवाको शुभारम्भ गरेका थिए । हेटौंडामा डायलाइसिस गर्नुपर्ने मिर्गौलाका बिरामी पाँचसय ३७ जना रहेको अस्पतालले जनाएको छ ।

करिब ५ करोड रुपैयाँ लागतमा अस्पतालले नि:शुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डायलाइसिस सेवा सुरु गरिएको हो । हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि ३ वर्ष अगाडी नै तयार पारिएको भवनमा मेसिन जडान गरिएको हो ।

हेटौंडा अस्पतालमा तत्काल ५ वटा डायलाइसिस मेसिन रहेको छ । उक्त मेसिनलाई नेफ्रोलाजिष्ट डाक्टरको संयोजकत्व दैनिक २ पटक बिहान र दिउँसो सञ्चालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिनेछ । अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले ३ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभर र शिवम् सिमेन्टबाट एक/एक वटा डायलिसिस मेसिन सहयोग गरेको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

एक महिनाभित्र थप ५ वटा डायलासिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने मेयर महतले जानकारी दिए । ‘डायलाइसिस सेवा विस्तार गर्दै अझ सहज बनाउन उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने छ,’ उनले भने ।अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने र स्वास्थ्यकर्मी व्यवस्थापन भने अस्पतालले गर्ने उनले बताए ।

हेटौंडामै डायलाइसिस सेवा सुरु भएपछि काठमाडौं, चितवन धाउन पर्ने बाध्यता हटेको छ । हेटौंडा अस्पतालमा यो सेवा नहुँदा मिर्गौलाका बिरामीहरु काठमाडौं, चितवनलगायतका सहरमा पुगेर डायलासिस गर्न बाध्य रहेका थिए ।

यसअघि हेटौंडामा रोटरी क्लब अफ मकवानपुरको सहयोगमा हेटौंडा–११ थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलले ३ मेसिनबाट डायलाइसिस सेवा दिँदै आएको छ ।

प्रकाशित : असार १४, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×