कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिमयुक्त क्षेत्रमै संरचना निर्माण

टीकाप्रसाद भट्ट

रामेछाप — दुई वर्षअघि अति जोखिमयुक्त क्षेत्र मानिएको रणजोर खोलाको बगरमा घर निर्माण हुन थालेपछि मन्थली नगरपालिकाले रोक्यो । घर निर्माण गर्ने पक्ष अदालत पुग्यो, फैसला पक्षमा आएन, निर्माण रोकियो । अहिले त्यही स्थानमा थोरै–थोरै गरेर संरचना थप्ने काम भइरहेको छ ।

जोखिमयुक्त क्षेत्रमै संरचना निर्माण

अतिक्रमण पनि बढेको छ । पानी बग्ने क्षेत्रमा माटो थुपारेर खोला उकास गरी घडेरी किनबेच र बसोबासका लागि स्थायी संरचना निर्माण भइरहेका हुन् ।

मन्थली नगर प्रमुख रमेश बस्नेत भन्छन्, ‘जोखिमयुक्त क्षेत्र हो, घर नबनाउनुभन्दा हाम्राविरुद्ध अदालतमा मुद्दा हाल्छन्, नक्सापासबिनै घर बनाउँछन्,’ उनले नदी किनारमा घर बनाउन रोक्न खोज्दा धेरै दबाब आउने गरेको बताए ।

लेदोसहित बग्ने रणजोरको बाढीले हजारौं रोपनी खेत विनाश गरिसकेको छ, पटक–पटक बनाइएका तटबन्धहरू बगाएको छ । यसबारे जानकार हुँदाहुँदै पनि स्थानीय बगर उकासेर घडेरीको रूपमा किनबेच र बसोबास गर्दै आएका छन् । रणजोरको पुल २ स्पानको छ । स्थानीयले माटो पुरेर खोलाको बहाव परिवर्तन गर्दा एक स्पानमा बुझो लागेको छ । नगरको वडा १, २, ३, ४, ६, ७ र ८ बाढीको उच्च जोखिममा छन् । जुन क्षेत्रमा रणजोर र तामाकोसी नदीको कटान हुँदै आएको छ । तर नगरपालिकाले आगामी वर्षको बजेटमा विपद् व्यवस्थापन शीर्षकमा न्यून बजेट विनियोजन गरेको छ ।

केही दिनअघि सिन्धुपाल्चोकको मेलम्चीकैजस्तो अवस्था भए सदरमुकाम रहेको आकाशे क्षेत्रसमेत डुबानमा पर्ने जोखिम छ । ‘तिब्बतमा खोला थुनिएको सूचनाले २ दिनसम्म हाम्रो निद्रा खोसियो,’ स्थानीय मानबहादुर माझी भन्छन्, ‘बाढी आउँछ भनेपछि भाग्यौं, हल्ला शान्त भएपछि फेरि फर्केर घरमा बस्यौं । यो क्रम २ दिनसम्म चल्यो ।’

पछिल्लो वर्षदेखि सरकारले पनि यस्तै क्षेत्रमा करोडौंका संरचना निर्माण गरिरहेको छ । मन्थलीको भुत्याहा खोलामा तीनै सरकारको लगानीमा भवन निर्माण भइरहेका छन् । हिंसापीडित महिला र बालबालिकाहरूलाई आश्रय दिन बनाइएको सुरक्षित आवास गृह (सेफ हाउस) पनि खोलाको बगरमा छ । विगतमा खोला बग्ने गरेको स्थानमै प्रदेशको खानेपानी डिभिजन, कभर्डहल र प्राथमिक स्वास्थ्य केन्द्रका भवन बनाइएका छन् ।

प्रकाशित : असार १४, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?