१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जनप्रतिनिधिकै नाममा आयोजना !

केदार शिवाकोटी

दोलखा — शैलुङ गाउँपालिकाको गाउँसभाले पालिकाभरिका ठूला आयोजनाको नामकरण स्थानीय नेता, वडाध्यक्ष र जनप्रतिनिधिका आफन्तका नाममा गरेका छन् । असार १० को नवौं गाउँसभाले पालिकाका मुख्य सडक, खानेपानी आयोजना, पार्क र वृद्धाश्रमको नाम परिवर्तन गरेर स्थानीय राजनीतिक दलका नेता, वडाध्यक्ष र जनप्रतिनिधिका आफन्तका नाममा नामकरण गरेको हो ।

जनप्रतिनिधिकै नाममा आयोजना !

नामकरण गरिएका एक दर्जन योजनामा गाउँसभाले स्तरोन्नति र निर्माण शीर्षकमा बजेटसमेत विनियोजन गरेको छ । उपाध्यक्ष लालमाया योञ्जनले आफ्नो गाउँ जाने सडक ससुराका नाममा नामकरण गरेर १० लाख स्तरोन्नतिका लागि छुट्याएकी छन् । यस्तै, पूर्वगाविस अध्यक्षसमेत रहेका एमाले नेताहरू गुणबहादुर बुढाथाकी, धनबहादुर तामाङ र थिरबहादुर मोक्तानका नाममा वृद्धाश्रम र सडकको नामकरण गरी रकम छुट्याइएको छ । पालिकाका ८ वडाध्यक्षका नाममा विभिन्न सडकको नामकरण गरिएको छ ।

सडक र स्थानीय आयोजनाको नाम व्यक्तिका नामबाट राखिएपछि चौतर्फी आलोचना भइरहेको छ । कांग्रेसका तर्फबाट निर्वाचित दुई वडाध्यक्षले भने नामकरण भएको सडकका नाम हटाउन पालिकामा अनुरोधपत्र दिएका छन् । कार्यपालिकाको बैठकले सर्वसम्मत रूपमा सडक र अन्य आयोजनाको नाम पारित गरेर गाउँसभाले पास गरेको अध्यक्ष भरतप्रसाद दुलालले बताए । ‘कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेर गाउँसभामा लगिएको हो,’ दुलालले भने, ‘एक्लैले नामकरण गरेको होइन ।’

नामकरण गरिँदा सम्बन्धित व्यक्तिसँग राय वा अनुमतिसमेत नलिएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले निर्माण गरिरहेको चर्नावती वृद्धाश्रमको नाम परिवर्तन गरेर गुणबहादुर वृद्धाश्रम राखिएको छ । तर निर्माण समितिका अध्यक्षसमेत रहेका बुढाथोकीले आश्रमको नाम परिवर्तन गरिएकोमा असन्तुष्टि जनाएका छन् । ‘मलाई थाहै नदिई नाम राखिएछ,’ उनले भने, ‘ऐतिहासिक थलोको नाम परिवर्तन गरेकोमा मेरो आपत्ति छ ।’ तत्कालीन समयमा गाविस अध्यक्षहरूले गरेको योगदानको कदर गरेर नामकरण गरिएको अध्यक्ष दुलालको तर्क छ ।

जथाभावी सडक, खानेपानीलगायतका योजनाको नामकरण गरेको भन्दै कांग्रेस शैलुङ गाउँपालिकाले विरोध गरेको छ । कांग्रेसका गाउँ सभापति दाबा दोर्जे लामाले वक्तव्य जारी गरी मनपरी रूपमा व्यक्तिका नाममा गरिएको नामकरण फिर्ता लिन आग्रह गरेका छन् । तर अध्यक्ष दुलालले कार्यपालिकामा सर्वसम्मत निर्णय भएकाले एक्लैले निर्णय सच्याउन नसक्ने बताए । ‘धेरैतिरबाट प्रतिक्रिया आएको छ,’ उनले भने, ‘सबै राय, सुझावपछि पुनः कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौं ।’

प्रकाशित : असार १३, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?