भरतपुर महानगरपालिकाको बजेट चार अर्ब ८१ करोड- वाग्मती - कान्तिपुर समाचार

भरतपुर महानगरपालिकाको बजेट चार अर्ब ८१ करोड

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको बिहीबार सम्पन्न नवौं नगरसभाले आउँदो आर्थिक वर्ष ०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पेस गरेको यो बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै तीन करोड रुपैयाँ कम हो । आउँदो वर्ष आन्तरिक आय एक अर्ब २० करोड रुपैयाँ पुर्‍याउने बजेटमा उल्लेख छ ।

यो आर्थिक वर्षको असार पहिलो हप्तासम्म महानगरको आन्तरिक आम्दानी ९५ करोड रुपैयाँ रहेको उपमेयर ठकुरीले जानकारी गराइन् । चालू आर्थिक वर्षका लागि चार अर्ब ८४ करोड दुई लाख ८२ हजार रुपैयाँको बजेट पेस भएको थियो । जसमध्ये असार पहिलो हप्तासम्म चालू खर्चमा ६२ दशमलव ४ प्रतिशत र पुँजीगत तर्फ ३९ प्रतिशत रकम खर्च भएको शाहले बताइन् ।

‘यस वर्षको नीति तथा कार्यक्रममा महानगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्रथामिकतामा राखिएको छ’ नवौं नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दा महानगरपालिकाका मेयर रेनु दाहालले भनेकी थिइन् । कोभिड–१९ को नियन्त्रण तथा प्रभावकारी उपचारका लागि महानगरपालिकामा एक करोड ९० लाख रुपैयाँको कोष राख्ने पनि बजेटमा भनिएको छ ।

कोरोनाले पारेको प्रभावलाई ख्याल राखेर चालू आर्थिक वर्ष कुनै पनि करमा जरिवाना नलिने मेयर दाहालले बताइन् । भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रमा अनि बजेटमा कृषि र पशुपालनको क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ । यसका लागि साढे तीन करोड रुपैयाँ विनियोजन गरेको बजेटमा उल्लेख छ । बजेटमा प्रथामिकता भने पुर्वाधार र सहरी विकासलाई दिएको छ ।

प्रकाशित : असार १०, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँको भानु नगरपालिकाको नगरसभा स्थगित

सम्झना रसाइली

तनहुँ — जिल्लाका अन्य पालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरे पनि भानु नगरपालिकाको नगरसभा नै स्थगित भएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने व्यवस्था रहेपनि नगरपालिकाको आन्तरिक विवादका कारण नगरसभा स्थगित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए । उनले भने, ‘कोरोना संक्रमण जोखिमका कारण वडावडामा बैठक हुन सकेन, समयमा भेला हुन नसकेकाले नगरसभा हुन सकेन ।’

नीति, कार्यक्रम तथा बजेट तयारीका विषयमा नगरपालिकाको कार्यापालिका बैठक समेत बस्न नसकेको र राजस्व, योजना तर्जुमा, बजेटका सिमा निर्धारण लगायतका विषयगत बैठकहरु समेत बस्न सकेको छैन ।

यस्तै, नगरपालिकाको प्रशासनिक भवन भानु–२ स्थित फुस्रेटारबाट भन्सार स्थान्तरण गरेपछि कार्यालयको विषयमा विवाद भइरहेको छ । कार्यालय स्थान्तरणको विषयलाई लिएर नगरसभा स्थागित भएको स्रोतले जनाएको छ । उपमेयर लगायत केही वडाध्यक्षहरुले नगरपालिकाको प्रशासनिक भवन फुस्रेटारमै हुनुपर्ने माग गर्दै आएका छन् भने केही वडाध्यक्षहरुले बजेटको तयारी नपुगेको भन्दै विरोध गरेका छन् ।

नगरपालिकाको प्रशासनिक भवनको विषयमा विवादभइ सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा विचाराधीन अवस्थामै छ ।

प्रकाशित : असार १०, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×