कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको आक्रमणबाट महिलाकाे मृत्यु, स्थानीयद्वारा निकुञ्ज कार्यालयमा तोडफोड र आगजनी

घटनालगत्तै निकुञ्जले बाघ धपाएर शव तत्काल बाहिर नल्याएको भन्दै स्थानीयको प्रदर्शन
रमेशकुमार पौडेल

चितवन — बाघको आक्रमणमा परी सोमबार दिउँसो रत्ननगरमा एक महिलाको ज्यान गएपछि स्थानीयले चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । 

रत्ननगर नगरपालिका-५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।

दिउँसो १ बजेतिरको घटनापछि आक्रोशित स्थानीयले निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालय अगाडि प्रदर्शन गर्दै आगजनी र तोडफोड गरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्रदर्शन गर्न आएकाहरुले कार्यालयका सिसा फुटाउनुका साथै चौरमा ल्याएर कुर्सी र बेञ्च जलाएका छन् ।

घटनालगत्तै निकुञ्जले बाघ धपाएर महिलाको शव तत्काल बाहिर नल्याएको भन्दै स्थानीयले प्रदर्शन गरेको निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले घटना भएको ४५ मिनेटभित्रै हात्तीसहितको टोली घटनास्थलमा पुगेको बताए । ‘बाघ भएको ठाउँमा जान हात्ती चाहिन्छ । प्राविधिक टोली तयार हुनु पर्दछ । यसका लागि चाहिने समय बाहेक अरु ढिलासुस्ती भएको छैन,’ बरालले भने । बाघले महिलाको शव कुरेरै बसेको थियो । साढे चार बजेतिर प्राविधिक टोलीले डार्ट गरेर बाघलाई लठ्याएको मध्यवर्ती अध्यक्ष घिमिरेले जानकारी दिए ।

केही दिनयता चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्ने र स्थानीय घाइते हुने तथा ज्यानै जाने घटना बढेको छ । दुई हप्ताअघि जेठ २४ गते भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको निधन भएको थियो । उनी माछा मार्न निकुञ्ज क्षेत्रमा पर्ने राप्ती नदीमा गएका थिए ।

त्यसअघि च्याउ टिप्न निकुञ्ज गएका बेला बैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार यो आर्थिक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १३ जनाको मृत्यु भएको छ । जसमध्ये बाघले चारजना, हात्ती र गैंडाले तीन/तीनजनाको ज्यान लिएको उनले बताए । गौरी गाइ, बँदेल र मगर गोहीले आक्रमण गर्दा एक/एकजनाको ज्यान गएको उनको भनाइ छ ।

प्रकाशित : असार ७, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?