कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध भारतीय धानको बीउ बेच्नेलाई कारबाही

१५९ बोरा बीउ खाल्डोमा पुरेर नष्ट
रमेशकुमार पौडेल

चितवन — आयात गर्न रोक लागेको भारतीय धानको बीउ ल्याएर बेचेका एग्रोभेटलाई चितवनको कृषि ज्ञान केन्द्रले कारबाही गरेको छ । बरामद भएको बीउ कार्यालयले आइतबार नष्ट गरेको छ । ज्ञान केन्द्रले गत जेठ ४ गते ‘गोरखनाथ’ नाम गरेको भारतीय हाइब्रिड जातको धान बोकेर आएको ट्रक समाएको थियो । गुण अनुरुपको नभएको भन्दै अघिल्लो वर्ष नै यो बीउलाई आयात गर्न नपाइने भनेर सरकारले सूचीबाट हटाएको थियो ।

अवैध भारतीय धानको बीउ बेच्नेलाई कारबाही

आयात गर्न नपाइने धानको बीउ चितवनको एग्रोभेटहरुमा बिक्री भएको भन्ने सूचनाका आधारमा अनुगमन गर्दा ट्रकले नै बीउ ल्याएर आउँदै गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको चितवन भरतपुरमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा एक सय ५९ बोरा ‘गोरखनाथ’ नाम गरेको धानको बीउ थियो । एक बोरामा ३६ किलो धान थियो ।

‘गोदाममा छापा मार्दा थप चार प्याकेट धान पनि बरामद भएको थियो । यीमध्ये ११ किलो प्रयोगशाला परीक्षणमा पठाएका थियौं । थप २२ किलो धानको नमुना सुरक्षित राखेका छौं । बाँकी रहेको पाँच हजार ६ सय ९५ किलो गोरखनाथ–५०९ नामको भारतीय धानको जात आज नष्ट गर्‍यौं,’ प्रमुख ढकालले भने । बीउका लागि प्रयोग गर्न नपाइने र विषादी राखेर उपचार गरेको हुँदा खान पनि नमिल्ने भएका कारणले नष्ट गरेको उनले बताए ।

बीउ बिक्री गर्न यो धान मगाएका पूर्वी चितवन खुरखुरेको प्रशान्त एग्रोभेट, रत्ननगरको साझा एग्रोभेट सेवा र चितवन भेटफर्मा, नारायणगढको एभरेष्ट एग्रो इन्टरनेसनल र पश्चिम चितवन अमृतचोकको विनिता एग्रो सेन्टरलाई जरिवना गरेको ढकालले जानकारी दिए । यी एग्रोभेटहरुलाई १० हजार रुपैयाँका दरले जरिवना भएको उनले बताए । दुई वर्षअघि भारतीय धानको बीउ ‘गरिमा’ले नेपाली किसानलाई धोका दिएको थियो ।

त्यो बेला गरिमा र गोरखनाथ बीउ दुवैका बारेमा अनुशन्धान भएको ढकालले बताए । सरकारले गुण अनुरुपको नदेखिएपछि यी दुवै जातलाई नेपालमा ल्याउन नपाइने गरी प्रतिवन्ध लगाएको थियो । तर बजारमा र किसानसँग ‘गोरखनाथ’ अझै पनि देखिन थालेपछि अनुशन्धान र अनुगमन सुरु गरेको ढकालले बताए । प्रहरीले नियन्त्रणमा दिएको ट्रकमा कोशी अग्र्यानिक मलले पठाएको धानको बीउ थियो ।

‘गोरखनाथ’ धान किसानमाझ भने लोकप्रिय भएको कृषिका अधिकारीहरु बताउँछन् । मध्यम अवधिमा पाक्ने र मसिनो दाना भएका कारण किसानले यो धान मन पराएका छन् । ‘तर तोकेको जातीय गुण नभएपछि जुनसुकै बेलामा पनि यसबाट गरिमामा जस्तै किसानलाई धोका हुन सक्छ । सरकार र किसान घाटामा पर्न सक्छन् । त्यही भएर सरकारले सूचीबाट हटायो,’ ढकालले भने ।

भारतीय बीउ यसरी गैरकानुनी तवरमा आउँदा किसानलाई कुनै न कुनै बेला नोक्सान हुनुका साथै सूचीकृत र स्थानीय धानको बीउ बिक्री नहुने समस्या बढ्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन कार्यालयका कृषि अधिकृत माधव पौडेलले बताए । आयातकर्ता कोशी अग्र्यानिक मलका सञ्चालक केदार खड्का सरकारले ‘गोरखनाथ’लाई सूचीबाट हटाएको विषयमा आफू पनि जानकार रहेको बताउँछन् ।

‘भारत महाराष्ट्रको नाथ बायो जिन्सले यो उत्पादन गर्दछ । त्यसले गोरखनाथ र लोकनाथ धानको बीउ मलाई पठाउथ्यो । गोरखनाथ हैन लोकनाथको बीउ पठाउ भनेको उसले गोरखनाथ पठाएछ । भन्सार पास भएर आएको धानको बीउ हो,’ खड्काले भने । उनले ‘गोरखनाथ’ धानको सात टन बीउको भन्सार तिरेको बताए । आयात गर्न नियमले नै मिल्ने समयमा ‘गोरखनाथ’ तीन सय टनसम्म आफुहरुले ल्याउने गरेको उनको भनाइ छ ।

प्रकाशित : असार ६, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?