कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘निर्णय फिर्ता नभए आन्दोलन’ 

हेटौंडा — आगामी आर्थिक वर्षको बजेटमा वाग्मती प्रदेश सरकारले आफू नियन्त्रित आमसञ्चार गृह स्थापना गर्न बजेट विनियोजन गरेको जनाउँदै सरोकारवालाहरूले विरोध गरेका छन् ।

प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविपरीत रहेको र त्यसले लोकतन्त्रको आधारभूत मूल्यमान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् । नेपाल पत्रकार महासंघको वाग्मती प्रदेश समितिले शनिबार आयोजना गरेको ‘प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका सञ्चार क्षेत्र’ सम्बन्धी भर्चुअल अन्तर्क्रियाका सहभागीहरूले बजेट सञ्चारमैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै स्वतन्त्र प्रेसविरोधी नीतिहरू कार्यान्वयन हुन नदिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लोकतान्त्रिक राज्य व्यवस्थामा सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्ने विषय स्वीकार्य नहुने बताए । लोकतन्त्रको मर्ममा प्रहार गर्ने गरी आएका नीति र कार्यक्रमहरू फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने चेतावनीसमेत उनले दिए ।

सरकारी सञ्चार माध्यमलाई पूर्ण सम्पादकीय स्वतन्त्रतासहित सार्वजनिक प्रसारण सेवाका रूपमा विकसित गर्ने बहस चलिरहेका बेला प्रदेश सरकारले आमसञ्चार गृह स्थापना गर्ने नीति अख्तियार गरेकोप्रति महासंघको गम्भीर आपत्ति रहेको अध्यक्ष पोख्रेलले बताए । प्रेस स्वतन्त्रताविरोधी हर्कतविरुद्ध सबैको ऐक्यबद्धता रहनुपर्ने धारणासमेत व्यक्त गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले आफू नियन्त्रित सञ्चारगृह सञ्चालन गर्ने तयारीले वाग्मती प्रदेशमा लोकतन्त्र नभएको दुःखद अनुभूति गराएको बताए ।

प्रकाशित : असार ६, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?