२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सविता भण्डारी मृत्यु प्रकरण : सामाजिक सञ्जालपछि संघसंस्थाको चासो

रमेशकुमार पौडेल

चितवन — दुई महिनाअघि मृत्यु भएकी चितवन शारदानगरकी सविता भण्डारी धितालको चर्चा सामाजिक सञ्जालमा छाएको छ । प्रहरीले आत्महत्या मानेको यो घटनामा सविताका श्रीमान्, ससुरा र अमाजु (श्रीमान्की दिदी) विरुद्ध चितवन जिल्ला अदालतमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ । तर

सविता भण्डारी मृत्यु प्रकरण : सामाजिक सञ्जालपछि संघसंस्थाको चासो

सविताको हत्या भएको हुन सक्ने माइती पक्षको आशंकालाई आधार बनाएर सामाजिक सञ्जाल युट्युबमा प्रशस्तै सामग्रीहरू आएका छन् ।

योसँगै सविताको घर शारदानगरमा महिलाहरूले गतसाता दिनहुँजसो प्रदर्शन पनि गरे । घटना भएको दुई महिना पुगेका दिन शुक्रबार साँझ शारदानगर चोकमा महिलाहरूले मैनबत्तीसमेत बाले । यो विषय सामाजिक सञ्जाल, सविताको टोल समाजसम्म मात्रै सीमित छैन । चितवनमा महिला अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरूले संयुक्त बैठक बसेर घटनाका बारेमा मन्थनसमेत गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर हुन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

के हो घटना ?

सविताको मृत्यु गत वैशाख ४ मा भएको हो । ‘हो हल्ला सुनेर म दौडेर सविताको घरतिर गएँ । त्यहाँ पुग्दा म्याजिक भ्यानमा सवितालाई राख्दै रहेछन्,’ सविताको घरभन्दा झन्डै सय मिटर पर घर भएकी इन्दु गुरुङले भनिन् ।

२८ वर्षीया सविताको बिहे २०७१ वैशाख ३ मा भरतपुर–१९ शारदानगरका योगेन्द्र धितालसँग भएको थियो । उनीहरूको पाँच वर्षका छोरा छन् । बिहे गरेको एक महिनापछि योगेन्द्र वैदेशिक रोजगारीका लागि दुबई गए । दुई महिनापछि उनले श्रीमती सवितालाई पनि उतै बोलाए । ‘गर्भवती भएपछि सात महिनामा दिदी नेपाल फर्कनुभयो । बाबु यहीं जन्मेको हो,’ मृतक सविताकी बहिनी सजनी भण्डारीले भनिन् । लकडाउन भएपछि गत वर्ष योगेन्द्र पनि घर आएका थिए । गत वैशाख ४ को दिउँसो उनले सवितालाई घरको कोठाभित्र झ्यालमा सलको पासो लगाएर झुन्डिएको देखे ।

कोठाको ढोका खोल्दा नखुलेको र पछाडि झ्यालमा गएर हेर्दा झुन्डिएको देखेपछि हल्ला गर्दै आएर जोरसँग ढोका धकेलेर भित्र छिरेको र चलमलाएको झैं देखेपछि पासो काटेको योगेन्द्रले बयान दिएका छन् । हल्ला हुन थालेपछि अन्य मान्छे जम्मा भइसकेका थिए । पासो काट्ने परिवारका सदस्य नभएर अन्य छिमेकी हुन् । प्रहरी पछि मात्रै आएको गुरुङले बताइन् । चितवन मेडिकल कलेजमा पुगेलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

सविताको शव बुझ्नका लागि योगेन्द्रले प्रहरीमा सुरुमा वैशाख ५ मा जाहेरी दिएका छन् । जसमा झुन्डिएर मृत्यु भएको विवरण छ । सविताका बुबा रामचन्द्र भण्डारीले पनि त्यसै दिन फुटकर ज्यानमा अर्को जाहेरी दिए । दुबईमा बस्दा झैंझगडा हुने गरेको, शारीरिक–मानसिक यातना पनि दिने गरेको हुँदा अहिले मृत्यु के कति कारणले भएको हो अनुसन्धान होस् भनेर रामचन्द्रले उक्त उजुरी दिएका हुन् ।

भण्डारीको परिवार काठमाडौंमा बस्छ । रामचन्द्रले वैशाख १२ मा फेरि अर्को जाहेरी दिए । जसमा आत्महत्या दुरुत्साहनले घटना भएको उल्लेख छ । लोग्नेले मादक पदार्थ खाएर मोटी भएको, दाइजो नल्याएको भनेर दुःख दिने गरेको, दुबईमा कमाएको पैसा अमाजुले नदिएको र ससुराले यौनहिंसासमेत गरेको विवरण खुलाई आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । वैशाख १७ मा योगेन्द्र र जेठ १० मा उनका बुबा रमेशकमार धिताल पक्राउ परे ।

वैशाख २७ मा प्रहरीलाई भरतपुर अस्पतालले पोस्टमार्टम रिपोर्ट पठाएको छ । जसमा सविताको मृत्यु ‘ह्यांगिङ’ अर्थात् झुन्डिएर भन्ने उल्लेख छ । ‘पोस्टमार्टम रिपोर्टले प्रस्टसँग बोलेको छ । घटना आत्महत्या हो । अनुसन्धानले आत्महत्या दुरुत्साहन भएको देखेपछि मुद्दा चलेको छ,’ चितवन प्रहरी प्रवक्ता सूर्य थापाले भने । अनुसन्धान सकेपछि प्रहरीले मृतक सविताका श्रीमान्, ससुरा र अमाजु भावना ढकालविरुद्ध जिल्ला अदालतमा जेठ ११ मा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएर थुनछेक बहस

भएपछि अदालतले श्रीमान् र ससुरालाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । अमाजु भावना पक्राउ परेकी थिइनन् । मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी उनलाई २५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश भयो । यी सबै प्रक्रियाप्रति सविताको माइती पक्षको असहमति रहँदै आएको छ । सविताकी बहिनी सजनी भण्डारी कर्तव्य ज्यानमा उजुरी दिन सुरुदेखि नै प्रयास गरे पनि प्रहरीले टार्दै मुख्य विषयलाई नै मुद्दामा नसमेटेको आरोप लगाउँछिन् ।

घटनाको ‘मुख्य कारण’ भिडियो

सविता र उनका ७३ वर्षीय ससुरा रमेशकुमार धितालको एउटा छोटो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जसमा सविताको काखमा ससुरा सुतेको झैं देखिन्छ । केही संवादहरू पनि छन् । सविताको छोरा पनि आडैमा आफ्नै धुनमा खेलेको देखिन्छ । ससुराले यौन दुर्व्यवहार गर्न खोजेको कुरा दिदीले गुनासो गरेपछि आफूले प्रमाणका लागि भए पनि एउटा भिडियो खिच्न भनेको बहिनी सजनीले बताइन् । ‘हो मैले नै खिच्न भनेपछि दिदीले त्यो भिडियो आफैंले खिच्नु भएको हो । यो त्यस्तै सात महिनाअघि खिचेको भिडियो हो,’ टेलिफोन सम्पर्कमा आएकी सजनीले भनिन् । यो भिडियो खिचेलगत्तै आफूले दिदीलाई माइत काठमाडौं बोलाएको उनले बताइन् ।

दिदी माइत आएपछि त्यो भिडियो घरका मान्छेलाई पठाएको सजनीको भनाइ छ । त्यसपछि घरको कुरा घरमै मिलाउने भन्दै दिदीलाई माइतबाट शारदानगर नै लगियो भन्छिन् उनी । ‘यो भिडियो आएपछि सुरुमा भिनाजुले दिदीकै पक्ष लिएका थिए । तर पछि सबै मिलेर गाली गर्न थाले । घरमा झैंझगडा बढ्यो,’ सजनीले भनिन् । दिदीसँग हुने कुराकानी, म्यासेजले आत्महत्या गरेको विश्वास नलागेको हुँदा प्रहरीले कर्तव्य ज्यान मुद्दामा उजुरी लिएर अनुसन्धान गरेको भए सत्य कुरा बाहिर आउने उनको तर्क छ । उनलाई लाग्छ, भिडियो बनाएकै भनेर दिदीमाथि अत्याचार हुन थाल्यो र ज्यानै गयो ।

प्रकाशित : असार ६, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?