पृथ्वीराजमार्ग छिनछिनमै अवरुद्ध
धादिङ — मंगलबारदेखि परेको लगातारको वर्षाले पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धादिङको बेनिघाट रोराङ– १० जोगीमाराको तिक्राङस्थित चुनढुंगा खानी र जवाङखोलाको खानीबाट आएको लेदोयुक्त पहिरोले काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
विगत ४० वर्षदेखि सञ्चालित हेटौंडा सिमेन्टको बुङगा खानीबाट खसेको पहिरोले सोमबार रातिबाटै राजमार्ग अवरुद्ध गरेको थियो ।
सोमबार रातिदेखि नै सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गजुरी धादिङले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट अत्यावश्यक सामग्री लिएर काठमाडौंतर्फ आइरहेको दर्जर्नौं सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।
निषेधाज्ञाले यात्रुबाहक सवारी नचलेको भएपनि मालबाहक ट्रक र निजी सवारीहरु जाममा परेका छन् । पहिरो र लेदो झर्ने क्रम रोकिएको छैन । सडकछिनमै अवरुद्ध हुने सडक विभागको डोजरले छिनमै खुलाउने काम भइरहेको छ ।
बाटो खुलाउँदै सवारी पास गराइरहेको भए पनि यात्रा जोखिमपूर्ण बनेकोले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगको चुनढुंगा खानी सञ्चालनको लापरबाहीका कारण लेदोमाटो र पहिरोले सडक पुरिएको स्थानीयले बताएका छन् ।‘पटकपटक झर्दैछ, पटकपटक डोजरले सफा गरेर एकतर्फी यातायात सञ्चालन गरिरहेका छौं’, जिल्ला प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने ।
खानी सञ्चालकहरुले ग्रेगान व्यवस्थापन गर्न नसकेपछि यस्तो अवस्था आएको हो । यो वर्षकै पहिलो झरी परिरहेकोले नयाँ खोलिएको ट्रयाक र ग्रामीण सडकहरुमा पनि पहिरो झर्ने सम्भावना बढेकोले सचेत रहन जिल्लास्थित सरोकारवालाले आग्रह गरेका छन् ।
प्रकाशित : असार १, २०७८ १३:५६