कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा ‘चित्तबुझ्दो’ व्यवस्थापन

ठूला अस्पताल र अक्सिजन प्लान्ट हुँदा कोरोनाका बिरामीलाई अन्यत्रको जस्तो शय्या र अक्सिजन अभाव भएन
रमेशकुमार पौडेल

चितवन — कोरोनाको दोस्रो लहरमा चितवनमा संक्रमित हुनेको संख्या अत्यधिक रह्यो । सक्रिय संक्रमितको संख्या नै ५ हजार आसपास पुग्यो । यहाँका अस्पतालमा बाहिरी जिल्लाका बिरामीको चाप पनि उत्तिकै थियो । तर अन्यत्रको जस्तो शय्या अभाव र अक्सिजन नपुगेर बिरामी छट्पटिनुपर्ने अवस्था सिर्जना भएन ।

चितवनमा ‘चित्तबुझ्दो’ व्यवस्थापन

पहिलो लहरको तुलनामा यसपटक संक्रमितको संख्या धेरै त थियो नै, गम्भीर अवस्थाका बिरामी पनि अत्यधिक थिए । तर मृत्युदर भने कम रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा जिल्लामा संक्रमितमध्ये १.६ प्रतिशतको मृत्यु भएको उल्लेख छ । गत कात्तिक २० मा जारी यस्तै विवरणमा यो संख्या २ प्रतिशत थियो ।

कार्यालयले प्रत्येक पाँच–सात दिनको अवस्था विश्लेषण गर्दै यस्तो विवरण सार्वजनिक गर्दै आएको छ । कात्तिक २० पछि मृत्युदर कम हुँदै वैशाखको अन्तिम दुई साता १.४ प्रतिशतसम्म खुम्चेको थियो । अवस्था बिग्रन सक्छ भनेर पहिल्यैदेखि तयारी गरेका कारण चितवनमा अन्यत्रको जस्तो अस्तव्यस्त अवस्था नआएको चिकित्सक तथा सरकारी अधिकारीहरू बताउँछन् । ‘संक्रमितको संख्या अत्यधिक भए पनि उपचारमा त्यति धेरै भद्रगोल हुन पाएन । भरतपुरमा उपचार गर्न सक्ने क्षमता रहेछ भन्ने योपटक देखियो,’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने । खोप लगाएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्धक्क भई संक्रमितको राम्रो स्याहार र निगरानी गरेको उनको दाबी छ । ‘राम्रो उपचार पाएका कारण पनि मृत्युदर कम भएको हो,’ उनले भने ।

चितवनमा जेठ १४ मा अहिलेसम्मकै सर्वाधिक चार हजार ९ सय ३५ जना सक्रिय संक्रमित थिए । यहाँका अस्पतालमा कम्तीमा १४ जिल्लाका संक्रमित उपचारका लागि आएका तिवारीले जनाए । उनका अनुसार जेठ ४ मा ५ सय ३७ जनासम्म बिरामी भर्ना थिए । तर शनिबार सक्रिय संक्रमित १७ सय र अस्पतालमा ३ सय ६ जना मात्रै उपचाररत छन् । ‘पछिल्लो समय संक्रमण दर पनि घटेको छ । अहिले संकलित नमुनामध्ये १५ प्रतिशतमा संक्रमण देखिन्छ । एक समय ५४ प्रतिशतसम्म पुगेको थियो । ४० प्रतिशतको हाराहारीमा धेरै समय रहयो,’ उनले भने ।

कसरी गरियो व्यवस्थापन ?

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी पनि चितवनमा संक्रमण घट्न थालेको संकेत देखिएको बताउँछन् । ‘ठूला तीन–चारवटा अस्पताल हुनुको फाइदा हामीलाई भयो । त्यसमाथि पहिलो लहरबाट सिकेर हामीले अस्पतालहरूको क्षमता बढाउँदै लगेका थियौं । विभिन्न अस्पतालका आफ्नै अक्सिजन प्लान्ट छन् । नपुग अक्सिजन दिन यहीं थप अक्सिजन उद्योग पनि थिए,’ डा. अधिकारीले भने ।

यसले गर्दा राजधानी काठमाडौं र अन्यत्रका अस्पतालमा जस्तो शय्या नपुग्ने, चौर र बरण्डामा राखेर बिरामी जाँच्नुपर्ने अवस्था भरतपुरमा नआएको उनले बताए । उपचार नै प्रभावित हुने गरेर अक्सिजनको आपूर्ति पनि नरोकिएको उनको भनाइ छ । ‘अक्सिजनको वितरणमा चितवनका प्रमुख जिल्ला अधिकारीको भूमिका साह्रै राम्रो भयो । सबैले काम गर्दा यहाँ सहज भएको हो,’ चितवन मेडिकल कलेज (सीएमसी) का अध्यक्ष डा. हरिश न्यौपानेले भने ।

यहाँका अस्पतालहरूमा काठमाडौंसहित पूर्व र पश्चिमका विभिन्न जिल्लाका बिरामी हेलिकप्टर चार्टर गरेरै आउन थालेका थिए । सीएमसीमा मात्रै ६४ जिल्लाका संक्रमितहरू उपचारका लागि आएको अध्यक्ष डा. न्यौपानेले बताए । ‘एक दिन त भेन्टिलेटरमा ६२ जना बिरामी थिए । त्यस दिन देशभरकै अस्पतालहरूमा भेन्टिलेटरमा रहनेमध्ये यो सख्या उच्च हो,’ उनको दाबी छ, ‘भरतपुरमा पूर्वाधार पनि राम्रै छ । क्रिटिकल केयर पनि यहाँ उत्कृष्ट छ । डा. शीतल अधिकारीजस्तो क्रिटिकल केयरका दक्ष जनशक्ति यहाँ छन् । त्यसैले सबै कुरा नियन्त्रणमा रह्यो ।’

तेस्रो लहरको तयारी सुरु

संक्रमण घट्दै गए पनि निश्चिन्त हुन भने अझै नसकिएको चिकित्सकहरू बताउँछन् । संक्रमण बढेसँगै वैशाख १६ देखि चितवनमा निषेधाज्ञा लाग्यो । केही खुकुलो हुँदै गएको निषेधाज्ञा असार ३ सम्म जारी रहनेछ । चहलपहल बढ्दा फेरि संक्रमण बढ्न सक्ने खतरा कायमै छ । त्यसैले सावधानी अपनाउन आवश्यक भएको डा. अधिकारी बताउँछन् ।

‘विस्तारै चहलपहल बढ्छ । कोरोना भाइरस त यहाँ छ । हाम्रो व्यवहारले जोखिम बढाउनु भएन । नभए समस्या थपिन्छ,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने । तेस्रो लहर आउन सक्ने अवस्थालाई ख्याल राखेर केही तयारीहरू सुरु भइसकेको उनले बताए । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने आकलनसहित शय्या र आईसीयू थप्न सुरु गरिएको उनले जनाए ।

‘भोलिको तयारी आजैबाट गरे समस्या जटिल बन्दैन । हिजो पहिलो लहर आउँदा हामीले दोस्रो लहर पनि आउन सक्छ भनेर तयारी गरेका थियौं । हाम्रो अस्पतालमा जम्मा तीनवटा भेन्टिलेटर थिए । थपेर १६ वटा पुर्‍याएका थियौं । अब बच्चाहरूलाई ख्याल गरेर पूर्वाधार तयार गर्नुपर्छ,’ भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीले भने । बालबालिकाका लागि १५ वटा आईसीयू बनाउन बजेट आएको उनले जनाए ।

‘पूर्वाधार थप्नुका साथै बच्चालाई क्रिटिकल केयर कसरी गर्ने भन्ने तयारीमा हामी छौं । तालिमहरू दिइएको छ । भोलिको तयारी सुरु भइसकेको छ,’ सीएमसी अध्यक्ष डा. न्यौपानेले भने । तर कोरोनाको चरित्रका बारेमा राम्रोसँग जानकार कोही नभएका कारण संक्रमण नै नहुने गरी जीवनशैली अपनाउनु उत्तम हुने तिवारीको सुझाव छ । ‘संक्रमित नै नहुनु सबैभन्दा राम्रो हो । जनस्वास्थ्यका मापदण्डहरू पालना गरे जोगिन सकिन्छ । त्यता ध्यान नदिने, सामूहिक गतिविधि बढाए तेस्रो लहरअघि नै फेरि संख्या बढ्छ, समस्या बल्झिन्छ,’ उनले भने ।

चितवनमा हालसम्म कुल संक्रमित संख्या १४ हजार ९ सय पुगेको छ । तीमध्ये २ सय ४२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?