कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षालाई पाँच लाख ऋण

सिन्धुली — सिन्धुलीको एक स्थानीय तहले शैक्षिक प्रमाणपत्र राखेर उच्च शिक्षा अध्ययनका लागि बिनाधितो निर्ब्याजी ऋण दिन सुरु गरेको छ ।

उच्च शिक्षालाई पाँच लाख ऋण

कमलामाई नगरपालिका–५ की सुनीता श्रेष्ठलाई उच्च शिक्षा (सीए) अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच लाख रुपैयाँ ऋण उपलब्ध गराएको छ । नगर स्वरोजगार कार्यक्रम अन्तर्गत ती छात्रालाई उच्च शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराएको नगर प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

जग्गा बिक्री गर्ने कि साहुसँग चर्को ब्याजमा ऋण लिने भन्ने द्विविधामा रहेका अभिभावकको हैरानीलाई मुक्ति दिएर नगरपालिका शैक्षिक सारथि बनेको उनको ठम्याइ छ । अभिभावकले किस्ता तिर्न सक्ने सुनिश्चितता गरे नगरपालिकाका अन्य गरिब, जेहेन्दार र इमानदार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधितो निर्ब्याजी ऋण उपलब्ध गराइने नीति नगरपालिकाले अख्तियार गरेको छ ।

ऋण लिने व्यक्तिले सुरुको पाँच महिनासम्म किस्ता तिर्नु नपर्ने उल्लेख गर्दै नगर प्रमुख खत्रीले भने, ‘त्यसपछि १९ महिना किस्ताबन्दीमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । ब्याज तिर्नु पर्दैन ।’ उच्च शिक्षा, रोजगारमूलक र प्राविधिक शिक्षाका लागि पैसाको अभावमा नगरवासीहरू समस्यामा हुने बताउँदै उनले थपे, ‘नगरपालिका विश्वस्त भएमा लगानी गर्न कन्जुस्याइँ हुँदैन ।’

छोराछोरी पढाउनका लागि चर्को ब्याजमा ऋण लिएर भएको जायजेथा सबै सक्ने अभिभावकसमेत धेरै रहेकाले अबका दिनमा नगरपालिकाले त्यस्तो दुर्दशा हुन नदिने रणनीति बनाएको प्रमुख प्रशासकीय अधिकृत विकेश ढकालले सुनाए । निर्ब्याजी लगेको पैसा इमानदारीपूर्वक किस्ताकिस्तामा फर्काए सोही रकम अन्यलाई दिन सजिलो हुने उनको धारणा छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?