कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाले मजदुरी छुटेपछि चेपाङलाई छाक टार्नै सकस

प्रताप विष्ट

हेटौंडा — राक्सिराङ गाउँपालिका–८ पाम्बुङका ८ वर्षीय सुरेश चेपाङ बिहान सबेरै उठेर कन्दमूल खोज्न घरनजिकैको जंगल जान्छन् । घरमा बाबु छैनन् । आमाले भाइबहिनी हेर्नुपर्छ ।उनीचाहिँ आँखा मिच्दै जाबी भिरेर जंगलतिर लाग्छन् । उनका २ दुई बहिनी र दुई भाइ छन् । 

निषेधाज्ञाले मजदुरी छुटेपछि चेपाङलाई छाक टार्नै सकस

उनैले ल्याएको कन्दमूल र टाँकी उसिनेर आमा र भाइबहिनीले पेट भर्दै आएका छन् । सुरेश जंगलबाट फर्केपछि आमा देवीटारतिर काम खोज्न जान्छिन् । ज्यालाबनीको काम पाए बेलुकीका निम्ति पिठो किनेर ल्याउँछिन् । नत्र गिट्ठाकै भर । सुरेश पाम्बुङस्थित नवजीवन प्राविमा २ कक्षामा पढ्छन् । अहिले निषेधाज्ञाका कारण स्कुल बन्द छ । उनका बाबुको चिउरी टिप्न रुखमा चढ्दा लडेर दुई वर्षअघि मृत्यु भएको थियो । आफ्नो बारीको उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

सुरेशका छिमेकी नानी चेपाङ र मैया चेपाङ पनि बिहान सधैं कन्दमूल खोज्न जंगल जान्छन् । नानी र मैयाँ स्थानीय विद्यालयमा एक कक्षामा अध्ययन गर्छन् । खुट्टामा चप्पल पनि छैन । कन्दमूल खोज्न जाँदा काँडा बिझ्छन् ।

पाम्बुङका मात्र होइन, पाङथलीका बालबालिका पनि कन्दमूल खोज्न जंगल जाने गरेका छन् । ‘जंगलबाट गिट्ठा, भ्याकुर, चुइया, टाँकीको साग नल्याए उनीहरुको छाक नै टर्दैन,’ पाङथलीस्थित प्राथमिक विद्यालयका प्रअ कविराज तितुङले भने, ‘स्कुलमा पढ्न आउने अधिकांश विद्यार्थी अहिले कन्दमूल खोज्न जंगलमा जाने गरेका छन् ।’

गत वर्ष रासायनिक मलको अभावमा अन्न उत्पादन नभएपछि हाहाकार भएको वडा सदस्य राजु चेपाङले बताए । ‘साना–ठूला, पढ्ने, नपढ्ने सबै अहिले जंगल गएर कन्दमूल खोजेर ल्याउने गरेका छन्,’ उनले भने ।

पाम्बुङ र पाङथलीमा ४५ घर चेपाङहरू छन् । सबैका घरमा खाद्यान्न अभाव छ । काम गर्न भरतपुर, हेटौंडा, मनहरी, लोथर गएकाहरू पनि निषेधाज्ञाले गर्दा घर फर्केका छन् । ‘सबैका घरमा खानेमुखहरू बढेको छ तर अन्नको दाना छैन,’ स्थानीय मंगलबहादुर चेपाङले भने, ‘ज्यालाबनी गर्ने ठाउँ सबै बन्द भएको छ, त्यसैले कन्दमूल खाएर पेट भर्दै आएका छौं ।’

यस वर्ष भोकमरीको समस्या झन् जटिल बनेको वडा सदस्य चेपाङले बताए । ‘गाउँको समस्या गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले जानकारी गराइसकेको छु, हेरौं कतैबाट सहयोग जुट्छ कि ?,’ उनले भने । आफ्नो उत्पादनले यस क्षेत्रका चेपाङ परिवारलाई वर्ष दिनमा ३ महिनामात्र खान पुग्छ । उनीहरू ९ महिना ज्यालामजदुरी गर्छन् । जंगली कन्दमूल खाएर प्राण धान्छन् ।

मनहरी बजारबाट ५ घण्टा हिँडेर पुगिने पाम्बुङ, पाङथली, देवीटार, मैसिराङमा खाद्यान्नको समस्या छ । ‘अहिले सिंगो राक्सिराङ गाउँपालिकामा खाद्यान्नको अभाव छ,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘एकातिर रोगले चपटेको छ, अर्कोतिर भोकमरी छ ।’

कोरोना संक्रमण नियन्त्रण गर्न गाउँपालिकाले गाउँमै आइसोलेसन र कोभिड अस्पताल निर्माण गरेको छ । अर्कातिर भोकमरी समस्या टार्न दाताहरुसँग खाद्यान्न सहयोगको निम्ति अनुरोध गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?