३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

हिलाम्य सडकले सास्ती

सिन्धुपाल्चोक — कालोपत्रको काम पूरा नहुँदै ठेकेदारको मृत्यु भएपछि लिसंखु–एक्काइस किलो सडक खण्ड निर्माणकार्य थप प्रभावित भएको छ । कालोपत्र नहुँदा लिसंखुपाखर गाउँपालिका कार्यालयदेखि केही परको जंगली इलाकासम्मको सडक हिलाम्य छ  ।

हिलाम्य सडकले सास्ती

हिलाम्य सडकमा एम्बुलेन्स र अन्य सवारीसाधन फस्दा बिरामी र यात्रुलाई सास्ती भएको छ । शुक्रबार लिसंखुपाखर गाउँपालिका–२ की एक सुत्केरी बोकेको एम्बुलेन्स गाउँपालिका कार्यालयनजिकै फस्यो, जसलाई निकाल्न तीन घण्टा लाग्यो । त्यतिन्जेल सुत्केरी सडक किनारमै रहनुपर्‍यो ।

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रदेश सरकारको झन्डै ११ करोड रुपैयाँको लागतमा कालोपत्र गर्ने काम इलाइट रिभन रसुवा जेभी कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । ४.२ किलोमिटर लामो सडक कालोपत्रको काम गत असोजबाट थालिएको हो । तर अहिलेसम्म निर्माण पूरा भएको छैन ।

यहीबीच मुटुका बिरामी रहेका ठेकेदार सञ्जय पोखरेल दुई साताअघि अस्पताल भर्ना भए । उनको ५ दिनअघि मृत्यु भएको छ । निर्माण कम्पनीले पोखरेलको स्वास्थ्यमा खराबी र पछि मृत्युका कारण सडकको काममा विलम्ब भएको जनाएको छ । तर पछिल्लो एक महिनादेखि कुनै काम नभएको स्थानीय बताउँछन् ।

ठेकेदार पक्ष शोकाकुल अवस्थामा रहे पनि सडक सहज बनाइदिन आग्रह गरिरहेको गाउँपालिका अध्यक्ष कमल नेपाल बताउँछन् । ‘सडक सहज बनाउन आवश्यक पहलकदमी गरिरहेका छौं । सम्बद्ध निकायलाई ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने । पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठले कालोपत्रअघि गर्नुपर्ने काम लगभग अन्तिम चरणमा पुगे पनि वर्षात्ले सडक क्षतविक्षत बनाएको बताए । ‘कम्पनीले ग्राभेल र अन्य काम सुरु गर्दै थियो, निषेधाज्ञाले अलमल्यायो,’ उनले भने, ‘त्यसैबीच ठेकेदार बितेको दुःखद खबर आयो । अहिले सडक मर्मतसम्भार गरेर सहज बनाउने कामको तयारी भइरहेको ठेकेदार पक्षले जनाएको छ ।’

प्रकाशित : जेष्ठ २३, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?