रामेछापको ठोसे फलामखानीलाई आएन बजेट- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको ठोसे फलामखानीलाई आएन बजेट

टीकाप्रसाद भट्ट

रामेछाप — आगामी आर्थिक वर्षको बजेटमा रामेछापको ठोसे फलामखानी सञ्चालनका लागि सम्बोधन नगरेकोमा स्थानीयले गुनासो गरेका छन् । यसअघि सरकारले ठोसे फलाम खानी उत्खनन र सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको थियो।

राणा प्रधानमन्त्री देव शम्शेरको पालामा रामेछापको ठोसेबाट निकालेको धाउ प्रशोधन गरी स्थानीय विश्वकर्माले आरनमा पिटेर बनाएका पुलका सामग्री । सिक्रीहरु जोडेर बनाइएका त्यसबेलाका पुल अझै केही छन् । शिवालय र ठोसेमा फलामको लठ्ठा मात्र बाँकी छन् भने तामाकोशीमा वारपार तर्न सक्ने पुल अझै छ । तस्बिर : टीकाप्रसाद भट्ट / कान्तिपुर

‘यसपटक फलाम खानीका लागि बजेटमा एक शब्द पनि नआएकोले दुःख लागेको छ,’ ठोसेका पूर्वगाविस अध्यक्ष जगतबहादुर आलेले भने । आलेका अनुसार खानी सञ्चालनका लागि पटक–पटक सर्भे मात्रै भएका छन् । आले भन्छन् ‘धेरैले चुनावी नारा बनाए, तर खानी सञ्चालन भएन ।’

फूलचोकीपछिको दोस्रो ठूलो ठोसे फलाम खानीसम्म पुग्नका लागि सडक निर्माणको कार्य केही वर्षयता भइरहेको छ । सडक विभागअन्तर्गतको उक्त योजनाले खानीस्थलसम्म कच्ची सडकको पहुँच पुग्ने क्रममा रहेको आलेले बताए । ‘२/३ वर्ष भयो, थोरबहुत काम हुँदै आएको थियो, यो वर्षदेखि ठप्प हुने भयो,’ आलेले भने ।

गोकुलगंगा गाउँपालिका २ ठोसेका विभिन्न स्थानमा फलामका खानी छन् । मुख्य खानी आरुबोटे, दाङरदिंगर, सिंगटिलगायतका क्षेत्रमा रहेको स्थानीय भुवनबहादुर कार्की बताउँछन् । कार्कीका अनुसार उक्त स्थानहरूमा राणाकालमा फलामका धाउ निकालेका सुरुङ अझै छन् ।

प्रकाशित : जेष्ठ १७, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचार खर्च र क्षतिपूर्ति

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकाले कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई उपचार र क्षतिपूर्तिको घोषणा गरेको छ । 

गाउँ कार्यपालिकाको आइतबारको बैठकले कोरोनाका कारण बिरामी भई उपचार गराउनुपर्ने कर्मचारीलाई १ लाख उपचार खर्च र सोही रोगका कारण मृत्यु हुने पुगेमा त्यस्ता कर्मचारीका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार पालिकामा हालसम्म ७ जनाको कोरोनाले ज्यान गएको र केही उपचारको क्रममा रहेकोले थप कोरोना फैलन नदिन सतर्कता अपनाउने, संक्रमित भई उपचार गर्ने बिरामीलाई उपचारका अतिरिक्त १ हजार उपलब्ध गराउने र संक्रमितका लागि पालिकाबाट २ वटा डेडिकेटेड एम्बुलेन्सका अतिरिक्त २ वटा गाडी व्यवस्था गरिएको छ ।

यसैबीच नेपाल सरकारको नीतिअनुसार लिखु तामाकोसी गाउँपालिकामा निर्माण हुने १५ शय्याको अस्पताल बिजुलीकोटको नागिमा शीलान्यास गरेकोमा बजेट खिम्ती प्राथमिक स्वास्थ्यका लागि विनपयोजन भएकाले उक्त अस्पताल नाघीमा नै बनाउने निर्णय गरेको खड्काले बताए । उनले नाघी पालिकाका अधिकांश नागरिकलाई पायक पर्ने स्थान रहेको बताए ।

प्रकाशित : जेष्ठ १६, २०७८ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×