कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२५

संक्रमितलाई ‘होम आइसोलेसन किट’

सिन्धुपाल्चोक — जिल्लाका इन्द्रावती र लिसंखुपाखर गाउँपालिकामा कोरोना संक्रमितलाई ‘होम आइसोलेसन किट’ सहित आवश्यक परामर्श दिन थालिएको छ ।

संक्रमितलाई ‘होम आइसोलेसन किट’

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार गाउँपालिकाका १ सय ६५ संक्रमितमध्ये अधिकांशलाई घरमै आइसोलेसन किट पुर्‍याइएको छ । २८ हजारभन्दा बढी जनंसख्या भएको इन्द्रावतीका सबै वडामा स्वास्थ्यकर्मी घरदैलो अभियानमा खटिरहेको उनले बताए ।

‘संक्रमितलाई प्रोत्साहित गर्न आइसोलेसन किटसहित स्वास्थ्य सामग्री वितरण गर्दै छौं, विपन्न र बेसहारालाई आवश्यक सहयोग पनि पुर्‍याउने छौं,’ उनले भने । इन्द्रावतीमा चार संक्रमितले ज्यान गुमाएका छन् । ३० जना निको भएका छन् भने १ जनाबाहेक सबै होम आइसोलेसनमा छन् । स्वास्थ्यकर्मीको सल्लाहअनुरूप होम आइसोलेसन किटमा सिटामोल, एन्टिबाइटिक, भिटामिन सीजस्ता केही औषधिसहित डिजिटल थर्मोमिटर, सेनिटाइजर, साबुन, माक्स राखिएको छ ।

लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल पनि स्वास्थ्यकर्मीसहितको टोली लिएर वडापिच्छै होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बुझ्ने र किट वितरण गरिरहेका छन् । झन्डै १५ हजार १ सय ५५ जनसंख्या भएको लिसंखुपाखरको वडा ४, ५ , ६ र ७ मा आफैं पुगिसकेको र अन्यमा पुग्ने क्रममा रहेको अध्यक्ष नेपालले बताए । उनले संक्रमितलाई पौष्टिक आहारका लागि नगद ३ हजार पनि दिइने बताए । ‘नगदका लागि निवेदन दिन अनुरोध गरेका छौं,’ उनले भने । नाम र विवरण निवेदनमा भरेर पठाएपछि प्रत्येक संक्रमितलाई पौष्टिक आहार, खाद्यान्नका लागि ३ हजार उपलब्ध गराइने उनले सुनाए ।

लिसंखुपाखरका स्वास्थ्य संयोजक राजु बस्नेतका अनुसार पालिकाका ७४ जना संक्रमितमध्ये होम आइसोलेसनमा रहेका ४६ जनालाई किट दिइसकिएको छ । होम आइसोलेसनमा बसिरहेका संक्रमितबाट अन्यमा संक्रमण फैलिन नदिन कडाइ र बिरामीलाई प्रोत्साहन गर्न परामर्श दिइएको उनले उल्लेख गरे । लिंसखुपाखरभरका ७ वटा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी संक्रमितको घरमा स्वास्थ्य अवस्था बुझ्न प्रायः गइरहने गरेका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×