कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋणको विवादमा कुटपिट

रमेशकुमार पौडेल

चितवन — ऋणको विषयमा झगडा हुँदा चितवनको राप्ती नगरपालिका–९ का अमृत परियार कुटिएका छन् । २६ वर्षीय अमृतले ऋणको विषयमा भनाभन हुँदा स्थानीय सेते श्रेष्ठ र चिनीमायाका छोरा राजकुमारले कुटेको र दाहिने काँधको हड्डीमा चोट पुगेको बताए । उनको परिवारले श्रेष्ठ परिवारबाट ऋण लिएको थियो ।

अमृतकी आमा कल्पना र चिनीमायाबीच सोमबार भनाभन भएको हो । हिसाब कितावको प्रसंग मात्रै हैन जात तोकेर गालीगलौज भएपछि अमृत पनि प्रतिवादमा उत्रिएका थिए । ‘श्रीमान् बितेको एकल महिलालाई गाली गर्दा केके तुच्छ शब्द भन्छन् त्यो सबै भनिन् । अनि दलित समुदायको व्यक्तिलाई गाली गर्दा केके नराम्रो शब्द भन्छन्, त्यो पनि भनिन् । सोमबार साँझ अति नै भयो,’ अमृतले सुनाए ।

भनाभनपछि चिनीमायाका छोरा राजकुमार आएर आफूलाई हातपात गरेको अमृत बताउँछन् । ‘उपचारका लागि अस्पतालमा २९ हजार रुपैयाँ खर्च भयो । हामीलाई दलित भनेर हेपेर सुन्नै नसकिने, सार्वजनिक ठाउँमा भन्न पनि नमिल्ने विभिन्न शब्दहरूले गाली गरियो,’ अमृतले भने ।

अमृतकी बहिनी पूजाका अनुसार उनीहरूले सेते श्रेष्ठसँग ७५ सालको मंसिर नौ गते ३ लाख रुपैयाँ ऋण लिएका थिए । गएको चैत महिनाको चार गते ८ लाख ६० हजार रुपैयाँ दिएर हरहिसाब टुंग्याएको पूजाले बताइन् । श्रेष्ठले आफूहरूले नलिएको २ लाख रुपैयाँ ऋण पनि जोडेर मर्का पारेको उनको भनाइ छ ।

‘उनीहरूले लगेको पैसाको सबै लिखत र हिसाब छ । हिसाबमा तिर्नुपर्ने ९ लाख रुपैयाँभन्दा बढी देखिन्छ । तर उनीहरूकै कुरा मानेर ८ लाख ६० हजारमा हिसाब मिलाएको हो । तर पनि कल्पनाले हाम्रो परिवारलाई भन्नु नभन्नु भनेको गाउँलेहरूले सुनाउँछन्,’ चिनीमायाका छोरा राजकुमारले भने । सोमबार साँझ आफूले अमृतलाई एक झापड मात्रै हानेको राजकुमार स्वीकार गर्दछन् । हात दुख्यो भनेपछि आफूले नै अस्पताल पठाएको र सबै खर्च बेहोरेको राजकुमारले बताए ।

अमृतको परिवार यो घटनाविरुद्ध कानुनी कारबाहीमा जाने अडानमा छ । ‘भण्डाराको इलाका प्रहरी कार्यालय लगेर मिलौं भने । वडा कार्यालयमा पनि मिल्न आउनुपर्‍यो भन्दै छन् । हामी मिल्दैनौं,’ पूजाले भनिन् । राप्ती नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र लामा लेनदेनको विषयमा दुई जनाबीच मनमुटाव रहेको र त्यस दिन झगडा भएको बुझिन आएको बताउँछन् ।

प्रकाशित : जेष्ठ १५, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?