कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुनकोसीमा निर्माणाधीन पुल बाढीले भत्कायो

राजकुमार कार्की

सिन्धुली — लगातार वर्षापछि सुनकोसी नदीमा आएको बाढीले सिन्धुली–ओखलढुंगा जोड्न नवलपुरघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल भत्काएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवपुरघाटबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने पुल भत्किएको हो ।

सुनकोसीमा निर्माणाधीन पुल बाढीले भत्कायो

भर्खरै सेटरिङ ढलान गरिएको ४० मिटर संरचना पूरै बग्दा ६ करोड बराबरको क्षति भएको निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनले जनाएको छ । वर्षाअघि नै ढलानको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा बाढीले सबै बगाइदिएको कम्पनीका प्रतिनिधि मदन माझीले बताए । ‘पहिलो चरणको ढलान सकेर सेटरिङ खोल्न नपाउँदै बगायो,’ उनले भने, ‘ढलान सकिएपछि केबल तान्ने र असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो ।’ उनका अनुसार यो पुल नयाँ प्रविधिअन्तर्गतको ‘केबल ब्रिज’ हो ।

२ सय १० मिटर लम्बाइ रहेको पुलको लागत २३ करोड छ । फिक्कल गाउँपालिका–२ का वडाध्यक्ष शंकर भण्डारी भने सुनकोसीमा बनाइएको पुल साधारण बाढीले पनि बगाउनुले निर्माणको गुणस्तरमा प्रश्नचिह्न उठेको बताए । वर्षामा सुनकोसी सधैं यसरी नै उर्लन गरेको भन्दै उनले निर्माण कम्पनीले प्राकृतिक क्षति देखाई भुक्तानी लिन खोजेको आरोप लगाए ।

प्राविधिकहरू भने ढलानको सपोर्टमा राखिएको सेटरिङले लोड धान्न नसक्दा सामान्य बाढीमा पनि पुल भत्काएको बताउँछन् । सुनकोसी नदीकै घुर्मी–हर्कपुर जोड्ने पुल यसअघि हावाले भत्काएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×