कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मीमा संक्रमणले उपचार प्रभावित

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमित पहिचान र उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेपछि सेवा प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा धमाधम संक्रमण भएपछि त्यसको असर कोरोना संक्रमितको पहिचान, उपचारलगायतमा परेको हो ।

स्वास्थ्यकर्मीमा संक्रमणले उपचार प्रभावित

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले स्वास्थ्यकर्मी संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङको काम प्रशासनिक कर्मचारीले सम्हालेको बताए । ‘स्वास्थ्य शाखाका तीन जना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा म आफैं पनि लागेको छु,’ उनले भने, ‘प्राविधिक कर्मचारी नहुँदा समस्या हुने रहेछ ।’

भुम्लु स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले मंगलबार मात्रै ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएकोले कन्ट्याक्ट ट्रेसिङ प्रभावित हुनसक्ने भन्दै चिन्ता प्रकट गरे । ‘एउटै स्वास्थ्य संस्थाका २ सहित ६ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ,’ भट्टराईले भने, ‘आजसम्म त स्वाब संकलन गरेर पठाएका थियौं, अब सेवा प्रभावित होला भन्ने चिन्ता लागेको छ ।’

धुलिखेल नगरपालिकाका दुई स्वास्थ्य संस्थाका ६ जना र नमोबुद्धस्थित मेथिनकोट अस्पतालका २ स्वास्थ्यकर्मीमा संक्रमण पाइएपछि सेवा स्थगन गरिएको छ । मंगलबारसम्म बनेपाका १० जना, पनौतीका ३ र मण्डनदेउपुरका २ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै जिल्लामा १९२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?