कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० घरका १३० लाई कोरोना

हरिहरसिंह राठौर

तमाई गाउँ, धादिङ — भारतमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएपछि नेत्रावती डवजोङ–४ गुरुङबस्तीका युवाहरू पनि घर फर्किए । चैत अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म कैलालीको गौरीफन्टा नाका हुँदै यहाँका ३४ युवा घर आएका थिए ।

७० घरका १३० लाई कोरोना

‘भारतबाट युवाहरू गाउँ पसेको केही दिनमै स्कुले बालबालिकामा टाउको दुख्ने, बान्ता र ज्वरो आउने समस्या देखा परिसकेको थियो । त्यसपछि स्थानीय कुण्डलादेवी मावि बन्द त गर्‍यौं तर त्यतिबेलासम्म विद्यालय बन्द गर्न ढिलाइ भइसकेको रहेछ,’ संक्रमित भएर दुई साताको आइसोलेसन बसाइँपछि संक्रमणमुक्त भएका वडाध्यक्ष तिलबहादुर गुरुङले भने ।

सदरमुकाम धादिङबेंसीसँग जोडिएको यो बस्तीमा अहिले अधिकांश घरमा कम्तीमा दुई जना संक्रमित छन् । संक्रमितहरू मापदण्डविपरीत परिवारसँगै घुलमिल भएर बसेका छन् । क्वारेन्टाइनको साटो सबैजसो संक्रमितहरू गाउँबस्तीमा निर्बाध घुमफिर गरिरहेको पनि देखिन्छन् । तल्लो र माथिल्लो तमाई गाउँका ७० घरधुरीमध्ये कुनै परिवारमा तीन जनासम्म पनि संक्रमित रहेको गुरुङ बताउँछन् । उनका अनुसार गत वैशाख ११ मा सामूहिक स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बस्तीका १ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणमुक्त भए–नभएको जाँचका लागि स्वाब दिन स्वास्थ्यचौकी आएकी कुण्डलादेवी माविकी शिक्षक इन्द्रकुमारी श्रेष्ठले वैशाख पहिलो साता नै विद्यालय बन्द गर्न खोजे पनि वडा कार्यालयले नामानेको आरोप लगाइन् । भारतबाट फर्किएकाको व्यवस्थापन गर्न नसकेरै बस्तीमा कोरोना फैलिएको निष्कर्षमा स्थानीय र जनप्रतिनिधिसमेत पुगेका छन् । ‘एउटै गाउँमा यति धेरै जनामा संक्रमण देखिनुमा कारण भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी परिवारसँग घुलमिल हुनु र समयमै विद्यालय बन्द नगर्नु नै हो,’ गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले भने ।

शुक्रबार दोस्रो चरणको स्वाब संकलनका लागि शंकास्पदहरूलाई भोगटेनीस्थित स्वास्थ्य चौकीमा भेला गराइएको थियो । बस्तीका १ सय ३० संक्रमितमध्ये ६० वर्ष नाघेका ४ जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि सदरमुकाम र काठमाडौंका अस्पताल पठाइएको छ । बाँकी सबै संक्रमित भने घरमै रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबद्री पौडेलले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?