कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनमै भरियो हेटौंडाको कोभिड वार्ड

हेटौंडा — हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड दुई दिनमै भरिएको छ । संक्रमित बिरामीको संख्या अप्रत्याशित बढेसँगै हेटौंडा अस्पतालमा सञ्चालनमा ल्याइएको भेन्टिलेटरसहित ६ शय्याको आईसीयू र २४ शय्याको एचडीयू रहेको वार्ड भरिएको हो ।

दुई दिनमै भरियो हेटौंडाको कोभिड वार्ड

अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार जिल्लाबाहिरका समेत बिरामीहरू हेटौंडा आइरहेका छन् । ‘तराईमा संक्रमित बढिरहेका छन् । चितवनका अस्पतालहरूबाट रेफर गरिएका बिरामी उपचारका लागि यहाँ आइरहेका छन्,’ संक्रमितको चाप हेर्दा ‘थेग्नै नसक्ने’ अवस्थामा पुगेको भन्दै उनले थपे, ‘त्यसैले जटिल संक्रमित मात्र भर्ना गरेका छौं । सामान्य लक्षण भएकालाई परामर्श दिइरहेका छौं ।’

अस्पतालका मेसु प्रवीण श्रेष्ठले पनि सक्रिय संक्रमितको संख्या अत्यधिक रहेको बताउँदै थपको उपचार गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए । ‘थप संक्रमित भर्ना लिन सक्ने अवस्थामा छैनौं,’ उनले भने । उनका अनुसार वार्डमा थप ४० शय्या थप्ने तयारी भइरहेको छ ।

हाल अस्पतालका ५० जना चिकित्सक र ६६ जना नर्ससहित २ सय ५६ स्वास्थ्यकर्मी संक्रमितको उपचारमा खटिरहेका छन् । सक्रिय संक्रमितमध्ये ६ सय ७६ जना होम आइसोलेसन र ३२ जना हेटौंडा अस्पतालमा छन् । मेसु श्रेष्ठले परीक्षणका लागि भीटीएमको पनि अभाव देखिन थालेको बताए ।

६ संक्रमितको मृत्यु

कोरोनाका कारण मकवानपुर र चितवनमा गरी थप ६ जनाको मृत्यु भएको छ । संक्रमणपश्चात् हेटौंडा अस्पतालमा उपचाररत तीन जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मेसु श्रेष्ठले बताए । उनका अनुसार मृत्यु हुनेमा बारा अमलेखगन्जका ४६ र हेटौंडा–१ का ५५ वर्षीय पुरुष तथा महोत्तरी–२ जलेश्वरकी ५० वर्षीया महिला छन् ।

श्वासप्रश्वासमा समस्यापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा उनीहरूको मृत्यु भएको हो । योसँगै कोरोनाको दोस्रो लहरयता जिल्लामा मृत्यु हुने संक्रमितको संख्या पाँच पुगेको छ । उता भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा उपचाररत संक्रमितमध्ये १२ घण्टाभित्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा, रूपन्देही र कपिलवस्तुका पुरुषहरू छन् । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनीहरूमा ज्वरो, श्वासप्रश्वास, टाउको दुख्नेलगायत समस्या थियो ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?