कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी र पुष्पलाल जन्मस्थलमा पार्क

राजनीतिक तीर्थस्थलका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गरिने
टीकाप्रसाद भट्ट

सिन्धुली — छानाका अधिकांश डाँडा–भाटा र भ्याल्सी मक्किएर झर्न लागेका छन् । ढुंगामाटोको जोडाइ रहेको घरको भित्ता जताततै चिरा परेर खण्डहरजस्तो देखिन्छ । तर उक्त संरचनासँग कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको साइनो जोडिएको छ ।

बीपी र पुष्पलाल जन्मस्थलमा पार्क

कोइराला जन्मिएको सुनकोसी गाउँपालिकास्थित दुम्जा धरणीडाँडामा रहेको उक्त घरको अहिले भग्नावशेष मात्र बाँकी छ । जसको आसपास केही खेतीयोग्य जमिन र झाडी छ । यद्यपि कांग्रेस कार्यकर्ता तथा बीपीको विचार र साहित्य मन पराउनेका लागि भने त्यो घर प्यारो छ । बीपी राजमार्ग बनेपछि उक्त घर पुग्ने र फोटो खिच्नेको संख्या ह्वात्तै बढेको छ ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको पनि यो ठाउँमा चासो बढेको छ । दाहाल दुईपटक दुम्जा पुगिसकेका छन् । उनकै नेतृत्वमा कांग्रेस सम्मिलित सरकारले कोइराला र नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ जन्मेको स्थानलाई पार्कको रूपमा विकास गर्ने निर्णय गरेको थियो । सरकारले बीपी पार्कको लागि जग्गा अधिग्रहण सकेर डीपीआरसमेत बनाएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको डीपीआरबमोजिम बीपी पार्कको काम गत आवदेखि अघि बढेको हो । पार्कसम्म पुग्ने सडकको केही भाग निर्माण पूरा भइसकेको छ । सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार पार्कमा बीपी र उनका पिता कृष्णप्रसाद कोइरालाको सालिक बन्नेछ । पार्कभित्र पिकनिक स्थल, हाइकिङ ट्रेल, बाल उद्यान, लभ पार्क, पुस्तकालय, बगैंचा, राजनीतिक संग्रहालय, पानी पोखरी, कभर्ड हल, हेलिप्याड, शौचालय, पार्किङ स्थललगायतका पूर्वाधार निर्माण हुनेछन् । ‘पार्क प्रवेश गर्ने सडकको काम सकिएको छ,’ भण्डारीले भने, ‘यही वर्ष पार्कभित्रको पूर्वाधार निर्माण आरम्भ गर्दैर् छौं ।’ उनका अनुसार पार्क निर्माण पूरा हुन झन्डै ४ वर्ष लाग्नेछ । उक्त कार्यका लागि संघीय सरकारले बहुवर्षे योजना स्वीकृत गरेको छ ।

त्यसैगरी, नेता पुष्पलालको जन्मथलो रामेछाप–८ भंगेरीमा पनि चिटिक्कको पार्क निर्माण हुँदै छ । सदरमुकाम मन्थलीभन्दा १२ किलोमिटर पूर्व–दक्षिणमा रहेको भंगेरी अबको केही वर्षपछि राजनीतिक तीर्थस्थलका रूपमा विकास हुने आशा गरिएको छ । पुष्पलाल जन्मेको घर भने अहिले छैन । घडेरी मात्रै छ । त्यही घडेरीमा ढुंगामा कुँदिएको पुष्पलाल र उनका दाजु गंगालाल श्रेष्ठको सालिक छ ।

यहाँ पार्क निर्माणका लागि सरकारले करिब ५० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । अधिग्रहण भएको क्षेत्रमा पार्क निर्माणका लागि डीपीआरको काम पूरा भएको छ । पुष्पलाल पार्कमा पानीको फोहोरा, स्विमिङ पुल, संग्रहालय, २ सय व्यक्ति अट्ने बहुउद्देश्यीय सभाहल, जुनार बगैंचा, पुष्पलालको सालिक, प्रदर्शनी स्थान, शौचालय, हेलिप्याड, पार्किङ स्थललगायत पूर्वाधार बन्ने निर्माण आयोजनाका इन्जिनियर टंकप्रसाद गौतमले बताए ।

दुवै पार्क राजनीतिक रूपले उच्च महत्त्वका छन् । नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका नेता देवशंकर पौडेललले यी स्थानलाई अब राजनीतिक तीर्थस्थलका रूपमा विकास गरी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिन्छन् । बीपी र पुष्पलालका संघर्षका कथाहरू नयाँ पुस्ताले यिनै स्थानमा पुगेर बढीभन्दा बढी बुझ्न सक्ने संग्रहालयको विकास गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित : वैशाख २१, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?