कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच अस्पतालमा अक्सिजन उत्पादन गरिँदै

सिन्धुली र नुवाकोटका जिल्ला अस्पतालमा उत्पादन सुरू भइसक्दा मकवानपुर, भक्तपुर र धादिङमा प्लान्ट जडान अन्तिम चरणमा छ
प्रताप विष्ट

हेटौैंडा — वाग्मती प्रदेशका पाँच जिल्ला अस्पतालमा ठूलो परिमाणमा अक्सिजन उत्पादन गर्न सकिने प्लान्ट जडान गरिँदै छ ।

पाँच अस्पतालमा अक्सिजन उत्पादन गरिँदै

प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुलीको जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा प्लान्ट जडान गरी उत्पादनसमेत भइरहेको र मकवानपुर, भक्तपुर र धादिङमा भने प्लान्ट जडानको प्रक्रियामा रहेको जनाएको छ ।

‘प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दै छ,’ मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले भने, ‘सिन्धुली अस्पताल र त्रिशूली अस्पतालमा उत्पादनसमेत थालिएको छ । धादिङ र भक्तपुरमा प्लान्ट राख्न सम्झौता भई निर्माणको अन्तिम चरणमा छ ।’ उनका अनुसार प्रदेश राजधानी हेटौंडामा समेत प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना मन्त्रालयको छ । अहिले हेटौंडा अस्पतालमा बिरामीका लागि अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुँदै आइरहेको छ ।

कोरोनाको दोस्रो लहर तीव्र भइरहे पनि प्रदेशमा अक्सिजन अभाव नहुने उनको दाबी छ । ‘केही समयमै पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिनेछ,’ उनले भने । उनका अनुसार स्वास्थ्य आपर््तूि तथा व्यवस्थापन केन्द्र वाग्मती प्रदेशमा हाल ठूलो सिलिन्डर ८० थान मौज्दात छ । केन्द्र सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुने क्रममा छ । प्रदेश सरकारले पनि सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको छ । ‘हामीले अक्सिजनको अभाव नै नहोस् भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘सकभर त्यस्तो समय नआए पनि हामी तयारी अवस्थामै छौं ।’ पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन सिलिन्डर दिन सकिने डा. सेढार्इंको अनुमान छ ।

यता, नुवाकोटको त्रिशूली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको जनाएको छ । प्रतिमिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दिपेन्द्र पाण्डेले बताए । उनले अस्पतालका ५० शय्यामा अक्सिजन जडान रहे पनि ७६ थान थप सिलिन्डर मौज्दात राखिएको जनाए । ‘अक्सिजन अहिले उत्पादन गरेर सिलिन्डरमा भर्ने कार्य भने भएको छैन । अबको १५ दिनभित्र बुस्टर खरिद भएर आएपछि उत्पादित अक्सिजनलाई सिलिन्डरमा भरिनेछ,’ उनले भने ।

सिन्धुली अस्पतालले जडान गरेको अक्सिजन प्लान्टले २४ घण्टामा १४ सय लिटर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्ट राखिए पनि बुस्टर आवश्यक पर्ने भएकोले त्यसको खरिद प्रक्रिया अघि बढाएको अस्पतालका मेसु उमेश प्रधान बताउँछन् । ‘अक्सिजन प्लान्टमा बुस्टर जडान भएपश्चात् २४ घण्टामा १४१० लिटर अक्सिजन उत्पादन हुनेछ । उत्पादन भएको अक्सिजन सिलिन्डरमा समेत राखेर बिक्री गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?