कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोक्ताले ‘होल्ड’ गर्दा अक्सिजन सिलिन्डर अभाव

व्यक्ति, अस्पताल, मोटर वर्कसप, खानेपानी र जलविद्युत् आयोजनालगायतले करिब १५ हजार सिलिन्डर फिर्ता गरेनन्
नगेन्द्र अधिकारी

काभ्रे — अक्सिजन सिलिन्डर उपभोक्ताले ‘होल्ड’ गरिदिँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । अक्सिजन सिलिन्डर व्यक्ति, अस्पताल, खानेपानी, जलविद्युत् आयोजनामा थुप्रिएपछि ग्यास भर्न समस्या भएको हो ।

उपभोक्ताले ‘होल्ड’ गर्दा अक्सिजन सिलिन्डर अभाव

‘करिब १५ हजार सिलिन्डर विभिन्न उपभोक्ताले होल्ड गरेका छन्,’ पनौती–५ मा रहेको नवज्योति ग्यास उद्योग प्रालिका प्रबन्धक पद्मेशकुमार सुल्तानियाले भने, ‘भएका हजार–बाह्र सय सिलिन्डर भरेर दिने गरेका छौं ।’

उनका अनुसार व्यक्तिगत रूपमै अक्सिजन प्रयोग गर्ने, मेलम्ची खानेपानी आयोजना, विभिन्न जलविद्युत् आयोजनामा कम्पनीका सिलिन्डर थुप्रिएका छन् । ‘भएका सिलिन्डर मात्रै फिर्ता हुने हो भने पनि अहिलेको तुलना धेरै अक्सिजन सप्लाइ गर्न सक्छौं,’ सुल्तानियाले भने, ‘खानेपानी मन्त्रालय, मेलम्ची आयोजना, विभिन्न जलविद्युत् कम्पनीलाई पटक–पटक पत्रचार गरेपनि सिलिन्डर फिर्ता गरेका छैनन् ।’ हाल दैनिक ७ सय सिलिन्डर ग्यास कम्पनीबाट भित्रिने–बाहिरिने गरेको उनले बताए । विगतको तुलनामा माग पनि बढेकाले सिलिन्डरको अभावमा आपूर्तिमा समस्या भएको उनको भनाइ छ । नवज्योति जिल्लाको एक मात्र अक्सिजन उत्पादक कम्पनी हो ।

कम्पनीका व्यवस्थापक प्रकाश थापाका अनुसार खानेपानी आयोजना, जलविद्युत्त्, मोटर वर्कसप आदिमा फलाम काट्न अक्सिजन ग्यासको बढी प्रयोग हुन्छ । ‘संक्रमण बढ्न थालेपछि भने ती स्थानमा अक्सिजन पठाउन छोडेका छौं,’ उनले भने । नियमित विद्युत् आपूर्ति हुने हो भने विभिन्न क्षमताका दैनिक एक हजार सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्न सकिने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले उद्योगमा अनुगमन गरेर मेडिकल रिपोर्टबिना र अन्य उद्योगको लागि अक्सिजन उपलब्ध नगराउन निर्देशन दिइसकेको छ ।

यसबाहेक जिल्ला दुई अस्पतालमा अक्सिजन प्लान्ट छन् । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूका अनुसार दुई वटा प्लान्टबाट २४ घण्टामा विभिन्न क्षमताका ८० सिलिन्डर ग्यास उत्पादन हुन सक्छ ।

बनेपास्थित शिर मेमोरियल अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापामगरले अस्पतालको अक्सिजन प्लान्टले एक दिनमा २४ वटा ठूला सिलिन्डर भर्न सक्ने दाबी गरे । तर अस्पतालको लागि त्यति परिमाण पर्याप्त नहुने भन्दै उनले अन्य उद्योगको भर पर्नुपर्ने बाध्यता रहेको सुनाए । कोरोना संक्रमणको दोस्रो लहरमा धेरैलाई श्वासप्रश्वासमा समस्या देखिन थालेपछि अक्सिजन पनि अभाव हुन थालेको हो ।

प्रकाशित : वैशाख २०, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?