कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ विद्यालय भवन निर्माण अलपत्र

हरिहरसिंह राठौर

धादिङ — निर्माण कम्पनीका सञ्चालक नै पक्राउ परेपछि तीन जिल्लाका २३ विद्यालय भवन पुनर्निर्माण अलपत्र परेको छ । भारतीय दूतावासले ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिसँग २०७२ सालको भूकम्पले भत्काएका धादिङका १०, मकवानपुर र काभ्रेका १३ विद्यालय १५ महिनामै निर्माण सक्ने गरी २०७७ वैशाख १९ मा सम्झौता गरेको थियो ।

२३ विद्यालय भवन निर्माण अलपत्र

धादिङका विद्यालय पुनर्निर्माण गर्न ४४ करोड रुपैयाँमा ठेक्का लागेकामा भ्यालीले २० प्रतिशत रकम पेस्कीसमेत लिइसकेको छ । तर कम्पनीका सञ्चालक रवीन्द्र महर्जन विभिन्न ठेक्कामा बैंक भौचरलगायत कागजातहरू किर्ते बनाई पेस गरेको आरोपमा प्रहरी हिरासतमा छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीर्आबी) ले एक महिनाअघि मात्रै पक्राउ गरेको हो । मूल ठेकेदारबाट रकम नपाएका स्थानीय ठेकेदारहरूले अहिले काम छाडेका छन् । उता निर्माण कम्पनीले पुरानो ऋण चुक्ता नगरी कालोसूचीमा परेको भन्दै विभिन्न बैंकले उक्त पेस्की रकमबाटै ऋण असुलेका थिए ।

सिद्धलेक–१ बैरेनीस्थित मिन्दुला मावि पुनर्निर्माण गर्न ८ करोडमा २२ प्रतिशत घटेर निर्माण जिम्मा लिएको भ्यालीले स्थानीय ठेकेदार पुष्प थपलियालाई कामको जिम्मा दिएको थियो । स्थानीय ठेकेदारले पनि विद्यालयका ६ वटा साना–ठूला भवन भत्काएर गत वर्षकै वैशाखमा निर्माण थालेका थिए । घडेरी सम्याउन नपाउँदै मुख्य ठेकेदार पक्राउ परेपछि निर्माण कार्य अलपत्र परेको हो । ‘पुनर्निर्माण पनि भएन, भएका भवन पनि भत्काइयो, हाल बैरेनी बजारका स्थानीयका घरहरूमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिरहेका छौं,’ बैरेनीस्थित मिन्दुला मावि व्यवस्थापन समिति अध्यक्ष ईश्वरी अर्यालले भने ।

ज्वालामुखी गाउँपालिकाका चारवटा विद्यालय पनि पुनर्निर्माण गर्ने भन्दै भत्काएर स्थानीय ठेकेदारले अलपत्र छाडेका छन् । ‘भूकम्पले भत्काएका सालवास, ठूलोचौर, त्रिपुरासुन्दरी र वीरचेत माविका भवन पुनर्निर्माण गर्ने नाममा भत्काएर झनै लथालिंग बनाएर छोडिएको छ,’ ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनाले भने, ‘दूतावासको भर परेर ६ वर्षसम्म विद्यार्थीको बेहाल भयो । दूतावासकै भर परेर अरू दाता पनि आएनन्, खोज्दा पनि खोजिएन ।’

दूतावासले मैदीको ठूलोचौर मावि, चैनपुरको सालबास मावि, दार्खाको वीरचेत मावि, सल्यानटारको रानीपौवा मावि, खरीको त्रिपुरासुन्दरी मावि, नलाङको मिन्दुला मावि, ढोलाको बराहकालिका मावि, सल्यानकोटको सल्यानकोट मावि, गजुरीको महेन्द्रोदय मावि र कुम्पुरको महाकाली माविको भवन एक वर्षभित्र बनाउने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग २०७४ को सुरुमै सम्झौता गरेको थियो । तर कुनै पनि विद्यालय भवन बनेका छैनन् ।

तीन जिल्लाका २३ विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भ्याली कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर प्रक्रियामा रहेको राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इन्जिनियर अशोक अधिकारीले जानकारी दिए । भूकम्पका कारण धादिङमा ४ सय ६५ विद्यालयका ३ हजार ७ सय ७५ कक्षाकोठा पूर्णरूपमा ध्वस्त भएकामा अधिकांश भवन पुनर्निर्माण भइसकेका छन् ।

प्रकाशित : वैशाख १९, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?