३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

काभ्रे जिल्लामा पनि निषेध आदेश जारी

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि उपत्यकासँग सीमा जोडिएको जिल्ला काभ्रेका केही स्थानमा निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी ती स्थानमा निषेध आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको साँगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश जारी गरिएको छ ।

शनिबार बिहानसम्म काभ्रेमा सक्रिय संक्रमितको संख्या तीन सय ३८ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रेड जोन’मा राखेपनि संक्रमण नियन्त्रणको लागि प्रशासन र स्थानीय तह उदासिन देखिएका थिए । विवाह, व्रतबन्ध, भोजका नाममा दैनिक एक हजार जना भन्दा बढीको भीड हुने गरी पार्टी प्यालेसहरु सञ्चालनमा आएपनि प्रशासनले रोक लगाउन सकेको थिएन । सरकारले पहाडी जिल्लामा सृकय संक्रमितको संख्या दुई सय भन्दा नाघे प्रमुख जिल्ला अधिकारीलाई निषेध आदेश जारी गर्ने अधिकार दिएको थियो । वैशाख १५ गते नै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय १ पुगिसकेको थियो ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका सहभागीले जिल्लामा भीड र संक्रमण नियन्त्रणको लागि ठोस निर्णय गर्न अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने सार्वजनिक यातायातमा चाप कम भइसकेको, पार्टी प्यालेसहरुलाई पनि सचेत गराइसकिएको दाबी गर्दै परिस्थितीको मुल्याकंन गरेर मात्रै निषेध आदेश जारी गर्ने बताउदै आएका थिए ।

स्थानीय तहहरु पनि प्रशासनको निर्णयको पर्खाईमा थिए । भीडभाड हुने गतिविधि नगर्न, सामाजिक दुरी कायम गर्न, सुरक्षित हुन अनुरोध गर्ने बाहेक स्थानीय तहले थप कदम चालेका थिएनन् । जनप्रतिनिधिहरुले विवाह, व्रतबन्ध जस्ता भीडभाड हुने समारोहमा सहभागी भएर बधाई ज्ञापन गरिरहेका थिए । संघीय सरकारले भौतिक उपस्थितीमा कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएपनि जिल्लाको नमोबुद्ध लगायत केही पालिकाका निजी विद्यालले त्यसको पालना गरेका थिएनन् ।

प्रकाशित : वैशाख १८, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?