कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०४ वर्षमा नागरिकता

राजकुमार कार्की

सिन्धुली — सुगममै भएर पनि यहाँकी एक वृद्धाले सय वर्ष पार गरेपछि नागरिकता हात पारेकी छन् । कमलामाई नगरपालिका–१३ माथिल्लो रानीवासकी १०४ वर्षीया छत्रमाया मगरले शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।

उनको नागरिकता नं. २०–०१–७७–०३२९६ र जन्ममिति १९७४ माघ १५ गते छ । तीन महिनाअघि नै उनको उमेर १०४ वर्ष पुगेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले बताए । रानीवास बीपी राजमार्गको भिमानबाट रानीवास ७ किमिको दूरीमा छ । यातायात १२ महिना सञ्चालन हुन्छ ।

राज्यले दिने सेवा सुविधाबाट उनी वञ्चित रहेको थाहा पाएपछि नागरिकता बनाइदिन आफूले जनप्रतिनिधिलाई भनेर पहल गरेको अधिकृत बस्नेतले सुनाए । उनका पति तुलबहादुर मगरको मृत्यु भइसकेको छ । नागरिकताबाट सामाजिक सुरक्षा भत्ता पाइने भनेपछि उनका नातिले प्रशासन कार्यालयमा ल्याएका थिए । नाति पदमबहादुर ठाडामगरले बाबुहरूले नै नागरिकता बनाइदिएको होला, भनेर आफूले खोजी नगरेको उनले बताए ।

‘हाम्रो हजुरबुबाले ४ वटा श्रीमती ल्याउनुभएको रहेछ, उनले भने, ‘उहाँ कान्छी हो, सन्तान छैनन् । नागरिकताप्रति कुनै चासो नै भएन,’ पदमबहादुर भन्छन्, ‘पहिला बहुविवाह लाग्ने भनेर नागरिकता बनाएका रहेनछन्, अहिले थलिन लागेपछि बनाइदिएँ ।’

वृद्धा छत्रमाया नागरिकता नभएर सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहँदै आएकामा पछुतो लागेको वडाध्यक्ष किरण माझीले दुखेसो पोखे । व्यक्तिगत खर्चमा अटो रिजर्भ गरेर जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता दिलाएको उनले बताए । ती वृद्धालाई प्रशासन र जनप्रतिनिधिले सिन्धुली अस्पतालमा लगेर स्वास्थ्य परीक्षणसमेत गराएका थिए । ‘उहाँलाई घुँडा दुख्ने समस्या रहेछ, मैले सक्नेजति विधि अपनाएर उपचार गरेको छु,’ डा. सुधांशु झाले भने ।

प्रकाशित : वैशाख ४, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?