कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

‘रेडपान्डा जोन’ घोषणा अलपत्र

दोलखा — दोलखाको मार्बु क्षेत्रलाई ‘रेडपान्डा जोन’ घोषणा गर्ने गौरीशंकर संरक्षण क्षेत्रको योजना अलपत्र परेको छ । संरक्षण क्षेत्रले मार्बु, चंखु र रामेछापको चुचुरे समेतलाई समेटेर जोन घोषणा गर्ने र संरक्षणका कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, बजेट र कर्मचारी अभावले योजना अलपत्र परेको हो ।

संरक्षण क्षेत्रका योजना प्रमुख सत्यनारायण साहले घोषणा रोकिँदा रेडपान्डाको गणना र बासस्थानको संरक्षणलगायतका कार्य हुन नसकेको बताए । धेरै पटक बजेट र कर्मचारी माग्दा पनि नपाइएको उनको भनाइ छ । साहका अनुसार उक्त कार्यक्रमलाई पहिले कोभिडले रोक्यो । पछि बजेट र कर्मचारी कटौतीमा परे । ‘संरक्षण क्षेत्रको थप योजना कार्यान्वयनको कुरा हैन, भइरहेका काम र चोरी सिकारी रोक्नसमेत आयोजनालाई हम्मे परेको छ,’ साहले भने ।

कर्मचारीको अभावमा कतिपय चेकपोस्टमा ताला लागेका छन् । साहका अनुसार कर्मचारी नहुँदा चोरीसिकारी बढ्न सक्ने सम्भावना छ । रेडपान्डाको सिकार गरी छाला र अन्य अंग बिक्री गर्दा कुनै फाइदा नहुने उनी बताउँछन् । ‘सोझो रेडपान्डा हेर्दा राम्रो र मार्न सजिलो भएकाले सिकारीको मनोबल बढेको हुन सक्छ,’ उनले भने । नेपाली नाम हाब्रेले चिनिने रेडपान्डा गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने रामेछापको चुचुरेमा ८ वर्षअघि फेला परेको थियो । त्यसपछि उक्त क्षेत्र र दोलखाको आसपासमा खोजी गरिएको थियो । दोलखाको मार्बु र चंखु क्षेत्रमा करिब ४० वटा रेडपान्डा रहेको अनुमान आयोजनाको छ । तर गणना हुन सकेको छैन ।

रेडपान्डाको बसोबास क्षेत्र समुद्र सतहदेखि २ हजारदेखि ३ हजार मिटरसम्म हो । गौरीशंकर संरक्षण क्षेत्रका अधिकांश भूभाग उक्त उचाइ क्षेत्रमा पर्छन् । तर सबै क्षेत्रमा रेडपान्डाको बसोबास हुँदैन । यो जनावार निगालो घारी र झ्याउ भएको क्षेत्रमा बसोबास गर्न रुचाउने साहले बताए । सिन्धुपाल्चोक, दोलखा र रामेछापका हिमाली क्षेत्र समेटेर बनाइएको गौरीशंकर क्षेत्रमा हिउँचितुवा, रेडपान्डा, भालु, घोरल, झारललगायतका जनावार पाइन्छ ।

प्रकाशित : वैशाख १, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?