कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिसोर्ट र होमस्टेमा चहलपहल

प्रताप विष्ट

हेटौंडा — कोरोनाले थला परेको मकवानपुरको चित्लाङस्थित रिसोर्ट र होमस्टेहरू लयमा फर्किन थालेका छन् । पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरू आउन थालेका हुन् ।

रिसोर्ट र होमस्टेमा चहलपहल

नयाँ वर्षका कारण पनि पर्यटकको आगमन थामिनसक्नु छ । चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले एक सातादेखि आन्तरिक एवं बाह्य पर्यटक बढेको बताए । ‘केही दिनदेखि यहाँका रिसोर्ट र होमस्टे पर्यटकले भरिभराउ छन्,’ उनले भने ।

कोरोना संक्रमणमा कमी आउनेबित्तिकै चित्लाङको होमस्टे र रिसोर्टमा आन्तरिक एवं बाह्य पर्यटकहरू आउन थालेका थिए । चित्लाङमा मुख्य गरी काठमाडौंबाट पर्यटकहरू आउने गर्छन् । ‘त्यसो त हेटौंडा, वीरगन्ज, चितवनबाट पनि पर्यटकहरू यहाँ आउँछन्,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘जति गर्मी बढ्दै जान्छ, त्यति यहाँ पर्यटकहरू आनन्द लिन आउँछन् ।’ यस क्षेत्रमा खासै गर्मी हुँदैन ।

चित्लाङका होमस्टे र रिसोर्टमा बस्न काठमाडौंबाट थानकोट—चन्द्रागिरि हुँदै हिँडेर, स–साना सवारीसाधनमा र केबलकारमा आउने गर्छन् । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक राम्रो भएपछि पर्यटकको चाप झनै बढ्ने अपेक्षा गरिएको छ । उक्त सडक स्तरीकरण गर्न लामो समयदेखि स्थानीय खटिरहेका छन् ।

पर्यटन बोर्डले पाँच वर्षअघि चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम रहेको चित्लाङमा अशोक सम्राटले निर्माण गरेको अशोक चैत्य छ । चैत्यको अवलोकन गर्न चीन, तिब्बतलगायत विभिन्न मुलुकका बौद्धमार्गीहरू आउने गरेका छन् ।

थानकोटबाट १२ किलोमिटरको दूरीमा रहेको चित्लाङ अहिले उपत्यकाका बासिन्दाका लागि पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ । ‘अब चित्लाङमा पर्यटकहरू आउने सिजन सुरु भयो,’ होमस्टेका सञ्चालक एवं स्थानीय समाजसेवीसमेत रहेका मानन्धरले भने, ‘जति गर्मी बढ्दै जान्छ, त्यतिकै अनुपातमा चित्लाङमा राहतका निम्ति पर्यटकहरू आउने गर्छन् ।’ चित्लाङमा विशेषगरी फागुनदेखि पर्यटक आउन थाल्छन् ।

आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले १० वर्षअघि चित्लाङमा होमस्टे सञ्चालनमा ल्याइएको हो । सरकारले सन् २०११ लाई पर्यटक वर्षका रूपमा मनाइरहँदा उक्त क्षेत्रका बासिन्दाले होमस्टे सुरु गरेका थिए । विशेषगरी नेवार समुदायको बसोबास रहेको चित्लाङमा अहिले २५ वटा होमस्टे र ५ वटा रिसोर्ट छन् ।


प्रकाशित : वैशाख १, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?