कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक आयोजनाले लापरबाही गरेको भन्दै प्रजिअलाई ज्ञापन

टीकाप्रसाद भट्ट

रामेछाप — सडक निर्माणमा लापरबाही नरोकिएको भन्दै रामेछाप, देउरालीका बासिन्दाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोजनाले स्थानीयले प्रयोग गर्दै आएको खानेपानी, सिँचाइ र खेतीमा प्रतिकूल प्रभाव पर्ने गरी काम अघि बढाएको उनीहरूको आरोप छ । 

सडक आयोजनाले लापरबाही गरेको भन्दै प्रजिअलाई ज्ञापन

एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन सेलेघाट–साँघुटार सडक आयोजनाले आफ्ना माग बेवास्ता गरेको भन्दै स्थानीयले आइतबार प्रजिअ गौलोचन सैंजुलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा आयोजना निर्माणका क्रममा क्षति भएका विकासका संरचना, घर–गोठ, वन–जंगल र फलफूलका बिरुवाहरूको उचित क्षतिपूर्ति दिन माग गरिएको छ ।

रामेछाप नगरपालिका–२ का वडा सदस्य सुशीलहरि बख्रेलका अनुसार आयोजनाले सडकमा पर्ने जग्गा एकातर्फबाट मात्र काटेको, सडक खन्दा निस्केको माटोले व्यक्तिको खेतीयोग्य जमिन पुरिदिएको, परम्परागत चौतारो, पाटीपौवा, बाटोलगायत संरचना नष्ट पारिदिएको छ । ‘उक्त कार्य नगर्न बारम्बार भनेका छौं तर आयोजनाले टेरेन,’ उनले भने । बख्रेलले सडक निर्माण गर्दा स्थानीय र जनप्रतिनिधिसँग समन्वय नगरेको गुनासो पनि गरे ।

मन्थली नगरपालिका–६, सेलेघाटदेखि रामेछाप नगरपालिका–२, साँघुटारसम्म करिब ५० किलोमिटर सडक ३ महिनाअघिदेखि निर्माण थालिएको हो । त्यसमध्ये ३६ किलोमिटर क्षेत्रमा माटो काट्ने काम भइरहेको छ ।

आयोजनाप्रमुख सुनील रञ्जितकारले एक्जिम बैंकले नियुक्त गरेको कन्सल्टेन्सीमार्फत काम भइरहेकाले स्थानीय स्तरमा आउने विवादहरूको निरूपणमा कन्सल्टेन्सी नै पहिलो जवाफदेही हुने बताए । समस्या सुल्झाउन कल्सल्टेन्सीसँग आवश्यक समन्वय गर्ने उनको भनाइ छ ।

कन्सल्टेन्सीका आवासीय इन्जिनियर सूर्य ढकालले स्थानीयको कतिपय जायज मागअनुसार आयोजनाले सुधारका लागि प्रयत्न गर्ने बताए । बोट–बिरुवा, घर–गोठको क्षतिपूर्तिका लागि काम भइरहेको र खानेपानी सिँचाइका पूर्वाधार पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन तत्काल कार्य गर्ने उनको भनाइ छ । ‘केही समस्या नभएका हैनन्, हामी बसेर समाधान गर्छौं,’ ढकालले भने, ‘स्थानीयलाई चित्त दुखाएर आयोजनाले कुनै काम गर्दैन ।’

प्रजिअ सैंजुले आयोजनाका पदाधिकारी झिकाएर आवश्यक सुधारका लागि तत्काल निर्देशन दिने बताए ।

प्रकाशित : चैत्र २, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?