कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै जिल्लाबाट डेढ अर्बको आलु बिक्री

‘महँगो बीउ र सिँचाइको कमीले यस वर्ष उत्पादन घट्ने अनुमान’
अनिश तिवारी

सिन्धुपाल्चोक — नदी छेउको चिटिक्क गाउँसँगै फराकिला फाँट र खेत । त्यही फाँटमा कोही आलु खनेर बोरामा भर्दै छन्, कोही जोख्दै सडकसम्म लगेर बिक्री गरिरहेका छन् । सातायता बर्खे आलुको पकेट क्षेत्र मानिने इन्द्रावती, मेलम्ची, झ्याडीखोला किनारका दृश्य हुन् यी ।

एकै जिल्लाबाट डेढ अर्बको आलु बिक्री

काभ्रेस्थित कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ८४ हजार ९ सय ३० टन आलु उत्पादनबाट सिन्धुपाल्चोकका कृषकहरूले १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरे । गत आवमा वर्षे र हिउँदे सिजनमा गरी जिल्लाभर २ अर्ब ५४ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पुजन जंगमले बताए । ‘यो वर्ष भने महँगो बीउ र सिँचाइको कमीले उत्पादनमा केही कमी हुने अनुमान गरेका छौं । प्रत्येक वर्ष जति उत्पादन भए पनि ६० प्रतिशत मात्रै बिक्रीमा जाने गरेको छ । अन्य घरमै खपत भएको देखिन्छ,’ उनले भने । जिल्लाभर हिउँदे र वर्षे गरी ८ हजार ५ सय ५० हेक्टरमा आलु खेती गरिएको जंगमले बताए ।

ज्ञान केन्द्रका अनुसार वर्षे आलु २८ र हिउँदे आलु ६० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । विभिन्न संघसंस्था र स्थानीय तहले कृषि उत्पादनलाई अभियानका रूपमा सघाएपछि व्यावसायिक रूपमा आलु लगाउने कृषक बढ्दै छन् । खेतबाटै धमाधम आलु बोरामा हालेर व्यवसायीलाई प्रतिकिलो २७ रुपैयाँमा बेचिरहेको बलेफी गाउँपालिका–४ फुल्पिङकोटका केशव थापाले सुनाए । ‘अहिले आलुको सिजन हो, जता पनि यसकै चटारो छ । ब्रह्मायणी करिडोरभरिका कृषकलाई आलु निकालेर बेच्न मारामार छ,’ उनले भने । आलुबाटै ८० हजारदेखि १ लाखसम्म कमाइ गरिरहेको उनले सुनाए । ‘मेहनतनुसार बजार पाए आलुबाट राम्रै कमाइ हुँदो रहेछ । त्यही भएर सबै यसमा लागेका छन्,’ उनले भने ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका सिपाघाटकी कविता माझीलाई आलु नबिक्ला भन्ने तनाव छैन । मेलम्ची, काभ्रेको धुलिखेल, बनेपा र काठमाडौंसम्मका व्यवसायी आलु किन्न खेतमै पुग्ने गरेको उनले बताइन् । ‘आलुको माग भइरहने कारणले सबैले लगाउँछन् । पकेट क्षेत्र भएकाले बर्सेनि आलु मेलाजस्तै हुन्छ यहाँ,’ उनले भनिन् । राम्रो आलुलाई बजारमा बिकाउन त्यति धेरै कसरत गर्न नपरेको उनको अनुभव छ । आलुको व्यावसायिक आम्दानीले परिवार चलाइरहेकी उनले अरू सिजनअनुरूपका तरकारी पनि लगाउँछिन् । जिल्लाको लिसंखुको मुडेको आलु बजारमा प्रतिकिलो ६० रुपैयाँसम्म बिक्री हुन्छ । यहाँ उत्पादित आलुको मुख्य बजार काठमाडौंलगायत सहर हुन् ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?