कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय लाइनमा जोडिँदै चाकु जलविद्युत्

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङमा निर्माणाधिन् २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन थालेको छ ।

राष्ट्रिय लाइनमा जोडिँदै चाकु जलविद्युत्

सिन्धुकै प्रायः व्यवसायीको लगानीमा निर्मित माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना (शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेड) ले शुक्रबारबाट ८ मेगावाट विद्युत् उत्पादन थालेको हो ।

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसहित अन्य स्थानीयले विद्युत्गृहमा पानी पठाएर शुक्रबार शुभारम्भ गरे । २२ दशमलव २ मेगावाट क्षमता भए पनि अहिले ८ दशमलव २५ मेगावाट उत्पादन गरिएको शिवश्री हाइड्रोपावर कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । एक साताभित्र राष्ट्रिय प्रसारण लाइनमा यहाँको बिजुली जोडिँदै छ । ‘आयोजनाको सम्पूर्ण प्राविधिक मर्मत र विवाद सकाएर आयोजनाले विद्युत् उत्पादन थालेको छ,’ उनले भने, ‘एक साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।’

२०६७ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको आयोजनाका उमेश कसजूले बताए । गत वर्ष धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति पाएपछि आयोजनाले प्रभावितलाई लक्षित १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४ सय कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

प्रभावित फुल्पिङकट्टी, मार्मिङ, गाती, मानेस्वाँरा, राम्चे, पांग्रेटार, टेकानपुर र धुस्कुनका बासिन्दालाई १५ दिन म्याद राखेर सेयर (आईपीओ) खोलिएको थियो । आयोजनाको लागत प्रतिमेगावाट २० करोड अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?