शिक्षक माग गर्दै विद्यालयमा तालाबन्दी


सिन्धुली — लामो समयदेखि अंग्रेजी विषय पढाइ नभएको भन्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ नयाँखर्कस्थित माध्यमिक विद्यालय नयाँखर्कका ९ र १० कक्षाका विद्यार्थीले शुक्रबारबाट विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समक्ष तत्काल अंग्रेजी शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यालयको मुलगेटमा तालाबन्दी गरेको स्थानीय विवश थापाले जानकारी दिए ।
मुलगेटमा तालाबन्दी भएपछि शुक्रबार सबै कक्षाको पढाई प्रभावित भएको छ । अंग्रेजी विषयको पढाईनै नभई परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीहरुको भनाई छ । अंग्रेजी शिक्षक कृष्ण थापा लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको तथा विद्यालयमा हुँदा समेत नपढाएको विद्यार्थीको आरोप छ ।
विद्यालयका प्रधानाध्यापक मनोज शाहका अनुसार विषयगत शिक्षकलाई उपस्थित गराइ विद्यार्थीहरुको समस्या समाधान गरि पढाइ सुरु गर्न पहल भइरहेको छ ।
प्रकाशित : फाल्गुन ७, २०७७ १९:४५