कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मतविभाजन कार्यविधि नहुँदा सदन चलाउन सकिएन : वाग्मती प्रदेश सभामुख

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई टुंग्याउन आवश्यक ‘मतविभाजन कार्यविधि’ नहुँदा बैठक सञ्चालन गर्न नसकिएको बताएका छन् ।

मतविभाजन कार्यविधि नहुँदा सदन चलाउन सकिएन : वाग्मती प्रदेश सभामुख

शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सभामुख श्रेष्ठले प्रदेशसभा सञ्चालन गरेपछि मतदानको प्रक्रियामा अगाडि बढाउनुपर्ने भएका कारण ‘मतविभाजन कार्यविधि’ तयार नहुँदा समस्या भएको दाबी गरेका हुन् । ‘मतविभाजनका लागि आवश्यक कार्यविधिको मस्यौदा बनाउन समिति बनाइएको छ । उक्त समितिले अझै कार्यविधि सचिवालयलाई उपलब्ध गराएको छैन,’ उनले भने । उनका अनुसार सदनमा प्रतिनिधित्व गर्ने सर्वदलिय सांसदहरुको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिएको भएपनि कार्यविधि अझै निर्माण भइसकेको छैन ।

कार्यविधि निर्माणका लागि सांसदहरु राजेन्द्र पाण्डे, बुद्धिमान माझी, केशब पाण्डे, गणेश दुलाल, छिरिङ दोर्जे, शोभा शाक्य, सुरेन्द्र गोसाईं, रिना गुरुङ र रिता माझीसहितको समिति गठन गरिएको थियो । ‘हाउस सञ्चालन गर्न समस्या छैन । तर, मतविभाजन गर्न समस्या छ । दलहरुले नो भोटिङको व्यवस्था समेत माग गरेका छन् । यस विषय मस्यौदा समितिले टुंग्याएर सदनमा कार्यविधि आएपछि बैठक सञ्चालन गरिनेछ,’ उनले भने, ‘अहिलेको अवस्थामा हाउस सञ्चालन भयो भने मतदानको समयमा रोक्नुपर्ने हुन्छ । त्यसकारण पटक/पटक बैठक स्थगित गर्नुपरेको हो ।’

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले बिहान ६:३५ मा सूचना टाँसेर स्थगित गरेका थिए । यसअघि माघ १९ का लागि तय बैठक अघिल्लो राति सूचना जारी स्थगित गरिएको थियो । सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहका ४५ जना सांसदले ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?