कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभा बैठक तत्काल बोलाउन प्रतिपक्षीको माग

कान्तिपुर संवाददाता

हेटौंडा — वाग्मती प्रदेशका प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा बैठक राख्न आग्रह गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल टुंगोमा पुर्‍याउन जरुरी रहेको भन्दै प्रतिपक्षी दलहरूले बैठक राख्न सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका हुन् ।

वाग्मती प्रदेशसभा बैठक तत्काल बोलाउन प्रतिपक्षीको माग

सरकारको दबाबमा सभामुख श्रेष्ठले पटक–पटक प्रदेशसभाको बैठक स्थगित गरेर संसदीय मूल्य र मान्यताको खिल्ली उडाएको उनीहरूको आरोप छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रदेशसभाका बैठक लगातार स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको भन्दै तत्काल प्रदेशसभा सञ्चालनको माग गरिएको छ ।

नेकपा दाहाल–नेपाल समूह, कांग्रेस र सत्तारूढ नेकपाबीच गत मंगलबार प्रदेशसभा सचिवालयमा बैठक सञ्चालन गर्ने सहमति भए पनि सूचना टाँसेर ‘विशेष कारण’ भन्दै स्थगित गरेकामा कांग्रेसले असहमति जनाएको हो ।

‘संसदीय अभ्यासको मर्म र भावनाविपरीत अचानक भएको यस्तो कार्य पटक–पटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?