कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ओली समूह र कांग्रेस कार्यकर्ताद्वारा सिन्धुलीको सुनकोसी खेल मैदान तोडफोड

राजकुमार कार्की

सिन्धुली — नेकपा (ओली समूह) र कांग्रेसका वडाध्यक्षहरुले विरोध जनाएपछि सिन्धुलीको सुनकोसी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता रोकिएको छ ।

ओली समूह र कांग्रेस कार्यकर्ताद्वारा सिन्धुलीको सुनकोसी खेल मैदान तोडफोड

एकलौटी गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुले खेल मैदानमा शुक्रबार तोडफोड समेत गरेका छन् । सुनकोसी गाउँपालिका खेलकुदमा नेकपा (दाहाल-नेपाल) समूहले एकलौटी गरेको ओली समूह र कांग्रेसले आरोप लगाएका छन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दाहाल-नेपाल समूहका छन् ।

सुनकोसी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विनोद श्रेष्ठका अनुसार बिहीबार उद्घाटन गराएको प्रतियोगिता संचालित खेल मैदानमा विराधी समूह आएर तोडफोड गरेका हुन् । विरोधी समूहले खेलकुदका विरुद्धमा नारा लगाएर कालो झन्डा देखाउँदै खेल मैदानको गेट, मञ्च र तारबार, टेबुलकुर्सी, खेल सामग्री तोडफोड गरेको उनले जानकारी दिए । खेल मैदान तोडफोडका कारण शुक्रबारको प्रतियोगिता रोकिएको छ ।

खेलकुदमा मनोमानी गरेको भन्दै प्रदर्शनमा नेकपा ओली समूहका वाग्मती प्रदेश सदस्य बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’का कांग्रेस सभापति बोधबिक्रम थापालगायत सुनकोसी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडाअध्यक्ष, सदस्यसहित पार्टीका समर्थकहरुको उपस्थिति रहेको स्थानीयले जनाएका छन् । उनीहरुले कालो झन्डा बोकेर खेलकुद विकास समिति पुनर्गठन गर, एकाधिकार बन्द गर, गाउँपालिकाको दम्भ बन्द गर, बहुमतको कदर गर लगायतको नाराबाजी गरेका थिए ।

प्रकाशित : माघ ३०, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?