२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रामेछापमा माझी समुदायलाई नमुना बस्ती हस्तान्तरण

टीकाप्रसाद भट्ट

रामेछाप — पिछडिएको माझी समुदायमा निर्माण भएको रामेछापको पहिलो एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । 

रामेछापमा माझी समुदायलाई नमुना बस्ती हस्तान्तरण

शनिबार खाँडादेवी गाउँपालिका ३ भिरपानी डब्खास्थित नमुना बस्ती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समुदायलाई हस्तान्तरण गरेका हुन् । नमुना बस्ती उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले आदिवासी माझी समुदायमा अरु थुप्रै काम प्रदेश सरकारले गर्ने आश्वासन दिए ।

माझीहरुको जातीय पहिचान झल्कने संग्रहालय लगायतका पूर्वाधारमा प्रदेश सरकारले लगानी गर्ने उनले आश्वासन दिए । पौडेलले छानाविहीन नागरिकलाई छानामुनि ल्याउन र घरविहीनका लागि जनता आवास कार्यक्रम समेत सरकारले एकै साथ संचालन गरिरहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अब डब्खाका माझीले आफ्नो जातीय परम्परा भेषभुषाका साथै जातीय परिकारले पाहुनाहरुको स्वागत गर्नुपर्नेमा जोड दिए । सामुदायिक होमस्टेको कमाई यसैको विकासका लागि खर्च गर्नसमेत उनले सुझाए । बस्तीका थप योजना अघि बढाउन प्रदेश सरकारले आगामी कार्यक्रममा बजेट बिनियोजन गर्ने ढुंगेलले बताएका थिए ।

कार्यक्रममा कृषि तथा पर्यटनमन्त्री दावादोर्जे लामाले माझी समुदायमा पर्यटन विकासका लागि नमुना बस्ती महत्वपूर्ण पूर्वाधार हुने विश्वास व्यक्त गरे ।

बीपी राजमार्ग नजिकैको डब्खामा ४२ परिवार माझी समुदायका लागि ४२ वटा नमुना घर निर्माण भएका छन् । २ कोठा र शौचालय समेतको व्यवस्था गरी लहरै निर्माण गरिएका चिटिक्क परेका घरमा अब माझी समुदाय आफैले सामुदायिक होमस्टे संचालनको गर्ने तयारी छ । बस्ती निर्माणका लागि वाग्मती प्रदेश सरकारको १ करोड ५० लाख र खाँडादेवी गाउँपालिकाको ७५ लाख गरी कुल २ करोड २५ लाख खर्च भएको थियो । बस्तीमा खेल मैदान र सामुदायिक भवन समेत निर्माण भएको छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार डब्खा एकीकृत बस्तीलाई सामुदायिक होमस्टे बनाएर संचालनको तयारी छ । माझी समुदायको आयआर्जनका लागि उक्त बस्तीका सबै परिवारलाई पालिकाले होमस्टेको तालिम, सामाग्री लगायतको कुरामा सहयोग गर्ने योजना अघि सारेको छ ।

प्रकाशित : माघ २४, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?