प्रदेशसभा बोलाउन दलहरुको आग्रह- वाग्मती - कान्तिपुर समाचार

प्रदेशसभा बोलाउन दलहरुको आग्रह

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल प्रदेशसभाको बैठक आव्हान गर्न आग्रह गरेका छन् । प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भए पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

बिहीबार दिउँसो प्रदेशसभा सञ्चालनका लागि करिब साढे ४ घण्टा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रदेशसभा सञ्चालनका लागि दलहरु सहमत भए पनि सभामुख श्रेष्ठ विभिन्न बहाना बनाएर पन्छिएको बैठकमा सहभागीहरुले बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यहरुले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए । ‘सभामुखकै कारण बैठक कहिले सञ्चालन हुने अनिश्चित भएको छ,’ उनले भने । सचेतक लामाका अनुसार सहभागीहरुले शुक्रबार बैठक आव्हान गरेर अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावका प्रस्तावक नेकपाका सांसद शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए । उनले सभामुखको भूमिका माथि नै प्रश्न उठाएका थिए ।

बुधबारबाट सुरु भएको प्रदेशसभाको सातौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलको दाहाल–नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहबाट पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।

प्रकाशित : माघ ८, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

सावित्राको ह्‍याट्रिकमा रौतहटलाई एपीएफले ६-० ले हरायो

राष्ट्रिय महिला लिग फुटबल
इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ ।

बिहीबारको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा विभागीय टोली एपिएफले विजयी सानदार विजयी सुरुवात गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहेको एपीएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाबमा राखेर खेल देखाएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपीएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बस्नेत, अञ्जली कुमार योन्जन र प्रिती राईले एक/एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांश समय बलमा पकड जमाएको एपीएफका लागि सावित्रा भण्डारीले १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा २२औं मिनेटमा अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पूजा राईले गोल गरेका थिए ।

सहज जित निकालेको एपीएफले स्पष्ट ३ अंक जोडेको छ ।

त्यस्तै बिहीबारको अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन । प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुवाती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो ।

विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

माघ २१ गतेसम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ८, २०७७ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×