कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद यादवलाई कोरोना पुष्टि भएपछि सिन्धुली वन कार्यालय सिल

राजकुमार कार्की

सिन्धुली — वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजकलाई कोरोना भाइरसको पुष्टि भएपछि डिभिजन वन कार्यालय सिन्धुली सिल गरी सबै सेवाहरु बन्द गरिएको छ ।

सांसद यादवलाई कोरोना पुष्टि भएपछि सिन्धुली वन कार्यालय सिल

वनको अवस्था बुझ्न सिन्धुली आएका उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । नारायणी अस्पताल वीरगन्जमा शुक्रबार गरिएको परीक्षणबाट सांसद यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उपसमिति संयोजक यादवसहित आएको अनुगमन छानबिन टोलीले गत बुधबार वन कार्यालय, उपभोक्ता समितिका पदाधिकारीहरु, कार्यालय प्रमुख, एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । डिभिजन वन कार्यालयले सूचना जारी गरेर शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

सूचनामा भनिएको छ, ‘अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले सेवाग्राही तथा अन्य महानुभावहरुलाई संक्रमण हुने सम्भावना भएकाले सेवा बन्द गरिएको छ ।’ कार्यालयका अनुसार अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेहरुको कन्ट्याक्ट टे«सिङ गर्ने काम भएको छ भने पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न अनुरोध गरिएको छ ।

उपसमिति संयोजकको टोलीका चालकलगाएयत अन्यलाई समेत कोरोना भाइरस पुष्टि भएकाले सिन्धुलीमा समेत प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण आशंका गरिएको छ । डिभिजन वन कार्यालय प्रमुख नारायणकुमार श्रेष्ठले समुदायमा संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ थालिएको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १७, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?