कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिजनमै छैनन् पर्यटक

लाङटाङ क्षेत्रका साथै दामन, चित्लाङ, मार्खुलगायतका पर्यटकीय गन्तव्यमा आगमन घट्दो

रसुवा, मकवानपुर — कोरोना भाइरस संक्रमणको प्रभाव मकवानपुर जिल्लाको पर्यटन क्षेत्रमा पनि देखिएको छ । मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको थाहा नगरपालिकास्थित दामन पालुङ, चित्लाङ, इन्द्रसरोवरको मार्खुलगायतका क्षेत्रमा आउने पर्यटक घटेका हुन् ।

सिजनमै छैनन् पर्यटक

आन्तरिक पर्यटकसमेत यात्रामा निस्कन छाडेका छन् । गत माघ ६ गते थाहा नगरपालिकाको दामनस्थित होटलमा निसासिएर ८ भारतीय पर्यटकको मृत्यु भएदेखि नै दामन पालुङ क्षेत्रमा आउने पर्यटक घटेको थाहानगर होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए ।


‘यहाँ पर्यटक अड्याउन सकिने कुनै नयाँ संरचना नै बनेनन् । जहिलै आउँदा पनि दामनको भ्युटावरबाट हिमाल र डाँडाकाँडा हेर्ने अनि एकरात सुत्ने मात्रै भयो,’ उनले भने, ‘पर्यटकीय संरचना नहुँदा पर्यटक आउनै छाडे । भारतीय पर्यटकको मृत्युपछि रिसोर्टलाई पर्यटन विभागले बन्द गरायो । पर्यटकमा भने दामनका सबै होटल बन्द भए भन्ने भ्रम परेको छ ।’


चित्लाङमा आउने पर्यटक पनि घटेका छन् । कतिपय सरकारी कार्यालयले होमस्टे तथा रिसोर्टका लागि गरेका अग्रिम बुकिङ रद्द गराएका छन् । माघयता चित्लाङमा पर्यटक आउने सिजन भए तापनि गत वर्षको जस्तो धेरै चाप नरहेको चित्लाङ अर्गानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए । ‘हाम्रातिर बाह्यभन्दा पनि आन्तरिक पर्यटक बढी आउने गर्छन् । कोरोना प्रभावले बाह्य पर्यटकको आवागमन भने ठप्प छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको संख्या पनि केही घटेको छ ।’ सरकारी कार्यक्रमहरूका लागि भएको सबै बुकिङ फिर्ता भएको उनले बताए ।


चित्लाङ र इन्द्रसरोवरको मार्खुमा विशेषगरी काठमाडौंबाट एक रात वा दुई रातसम्म बिताउने गरी पर्यटक आउने गरेका छन् । काठमाडौंबाटै ट्राभल एजेन्सीमार्फत चन्द्रागिरि हुँदै चित्लाङ, मार्खु, इन्द्रसरोवरमा डुंगा सयर, बाख्रा फार्म, अल्पाका फार्म अवलोकनका लागि प्याकेजमै पर्यटक ल्याउने र लैजाने गरिएको छ ।


अहिले भने पर्यटकको संख्यामा निकै कमी आएको होटल व्यवसायीको भनाइ छ । ‘यतिबेला हाम्रोमा पर्यटक आउने मुख्य सिजन हो, पहिले कुनै दिन पनि होटल खाली हुँदैन थिए,’ मार्खुस्थित होटल इन्द्रसरोवरका सञ्चालक रामप्रसाद श्रेष्ठले भने, ‘यसपालि आउनेजाने घटेका छन् । प्रायः शुक्रबार मात्र होटल भरिन्छन् ।’


लाङटाङमा आगमन घट्यो


लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । पर्यटकले भरिभराउ हुने तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड पदमार्ग यतिखेर सुनसान बनेका छन् । मार्चदेखि पर्यटक आउने मुख्य सिजन सुरु हुन्छ । ती पदमार्गमा फाट्टफुट्ट विदेशी पर्यटकमात्र भेटिन्छन् ।

चालु आर्थिक वर्षको फागुनमा यहाँ ७ सय ६८ विदेशी पर्यटक घुम्न आएका छन् ।


अघिल्लो आर्थिक वर्षको सोही महिनामा १ हजार ३ सय १९ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । कारोना प्रभावकै कारण लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक ह्वात्तै घटेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । यो सिजनमा निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक सयौं विदेशी पर्यटक प्रवेश हुने गरेकोमा अहिले घटेर १५ देखि २० को संख्यामा छ ।


रसुवा आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । रसुवामा तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेसीसम्म तामाङ सम्पदा मार्ग छ ।


‘लाङटाङ पदमार्गका होटल व्यावसायीलाई यतिबेला भ्याइनभ्याई हुन्थ्यो,’ क्याङजिनका होटल व्यवसायी ग्याल्बु तामाङले भने, ‘मुख्य सिजनमा पर्यटक छैनन् । होटल खाली छन् ।’ पर्यटक नआउँदा चीज बिक्री हुन छाडेको उनले बताए । तामाङ सम्पदामार्ग पनि सुनसान छ । गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्षजति भयो । यहाँ पनि पर्यटक आउने क्रम घटेको छ । टिमुरे, स्याफ्रु, सदरमुकाम धुन्चेका बजार पनि सुनसान छन् । पर्यटकको आगमन घट्दा होटल, ससाना रेस्टुरेन्ट, पोर्टर, गाइड, यातायात, अन्य पसल लगायतमा असर परेको व्यवसायी बताउँछन् ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?