कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तौंदेखि भूमिविहीन

कृष्ण थापा

गोर्स्याङ (नुवाकोट) — गाउँ चिटिक्क छ । केही घर पुरानो शैलीका ढुंगाले र जस्ताले छाएका छन् । भूकम्पपछि गाउँका केही घर क्रंकिटबाट बनिरहेका छन् । गाउँमा सडक पुगेको छ । स्थानीय मोटरसाइकल र बसबाट आउजाउ गर्छन् ।

गाउँपालिकासम्म जाने सडक किनारमा सहरका जस्ता ठूला र अग्ला घर पनि बनेका छन् । गाउँमा पाटा परेका बारी र बेसीमा खेत छ । उक्त गाउँ तारकेश्वर गाउँपालिका— ५ स्थित गोर्स्याङ हो । गाउँपालिकाको उक्त वडामा ९० प्रतिशत जनजातिको बसोबास छ । तर धेरै गाउँले पुर्खौंदेखि लालपुर्जा छैन । वृद्ध जसमान तामाङ सात पुस्तादेखि बिर्तावालको जग्गा कमाएर बस्दै आएका छन् । उनले आफूसँग लालपुर्जा नभएको बताए । पुर्जा पाइने आसमा गाउँ आएका बिर्तावाललाई एक महिना पाले ।


जग्गा पाइन्छ भन्ने आसमा उनले खान र बाससमेत दिएर राखे । तर उनले भूमिको स्वामित्व ग्रहण गर्न सकेनन् । ‘बिर्तावाललाई १ महिना पालें,’ उनले भने, ‘बोको काटेर पनि खुवाएँ । जग्गा आफ्नो नाममा गर्छन् भन्ने ठानेको थिएँ । तर भएन ।’ उनले कमोत गरेको जग्गा वीरजंग शाहको नाममा छ । थोरैले मात्र गाउँका प्रधानपञ्च र बिर्तावाललाई कोसेली दिएर खुसी पार्न सकेको उनी सम्झन्छन् । केहीले नापी आएको बेला आफ्नो नाममा पार्दै लालपुर्जा समेत प्राप्त गरे । तर आफूले बिर्तावाल मालिकबाट जग्गा पाउन नसकेको जसमानले बताए ।


अर्का भूमिपीडित वृद्ध दलबहादुर तामाङ पुर्खौंदेखि जग्गा कमाउँदै आएको बताउँछन् । ‘पुर्खौंदेखि जग्गा खनजोत गर्दै आएको छु,’ उनले भने, ‘तर आफूले कमाईरहेको जग्गाको लालपुर्जा छैन ।’ उनको जग्गा पूर्णजंग शाहको नाममा रहेको छ । केही रकम दलाललाई दिएर पुर्जा पाएका कवि तामाङले काठमाडौंको माछापोखरीमा जग्गा पाए । तर उक्त पुर्जा बेचबिखन गर्न नमिल्ने गर्न नमिल्ने पो रहेको उनले बताए । उनीहरूजस्तै ४ सय घरधुरी लालपुर्जाविहीन छन् । गाउँ पूरै बिर्तावालाका नाममा छ । उनीहरू मात्र होइन, यही वडाबाट निर्वाचित वडाध्यक्ष चूडामणि गजुरेल पनि लालपुर्जाविहिन छन् । उनी त्रिशूलीपारि जिलिङबाट पहिल्यै बसाइँ सरेर यता आएका हुन् ।


‘मेरो पनि लालपुर्जा छैन,’ उनले भने, ‘बिर्तावालकै जग्गा कमाएर खाइरहेको छु ।’ उनीहरूले हालै गाउँमै आएका भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयका उपसचिवद्वय कृष्ण खनाल र गोपाल गिरी तथा भूमिअधिकार अभियन्ता जगत देउजामाँझ आफ्नो पीडा पोखेका छन् ।


प्रकाशित : पुस १५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?