कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाटोमै सकिन्छ राहत रकम

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको दुर्गम गाउँका एक अग्निपीडितको राहत रकम सदरमुकाम आउजाउ गर्दा नै सकिएको छ । जिल्ला प्रशासनबाट लिएको राहत रकम उनले घरसम्म पुर्‍याउन सकेनन् । मकवानपुरको कैलाश गाउँपालिका–४ धुसाराङका सोमनानसिंह चेपाङको घर गत मंसिर १७ मा जलेर नष्ट भयो ।

त्यसयता छिमेकीको छाप्रोको पेटीमा सातजनाको परिवार आश्रय लिएर बसेका छन् । घर जलेकालाई सरकारले राहत रकम दिनेबारे स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि स्थानीय प्रहरी चौकी र गाउँपालिकाको सिफारिस लिएर उनी हेटांैडा आए । गाउँपालिका कार्यालय, प्रहरी चौकी र हेटौंडा आउँदा बसभाडा र खानपिन गरी सोमनानको पाँच हजार रुपैयाँ सकिइसकेको थियो । उक्त रकम उनले छिमेकीसँग सापटी मागेर ल्याएका थिए ।


प्रशासन कार्यालयले शुक्रबार राहत रकम नगद नदिएर चेक दिएको भए उनीसँग हेटौंडामा बस्ने र खाने पैसा हुने थिएन । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमनानको आर्थिक अवस्था बुझेर राहत रकम नगदै १० हजार रुपैयाँ दिएको बताए । कार्यालयले विगतमा राहत रकम चेकमै दिँदै आएको थियो । ‘चेपाङको आर्थिक अवस्था बुझ्दा अत्यन्त दयनीय देखेर राहत रकम नगदै दिइएको हो,’ प्रजिअ भट्टले भने, ‘नगद नदिएको उनीहरू शनिबार पनि हेटांैडा नै बस्नुपथ्र्यो । बैंकमा खाता खोल्नुपथ्र्यो, त्यसो गर्दा राहत रकम लिन आउँदा उल्टै ऋण लाग्थ्यो अग्निपीडितलाई ।’


घर पुग्दा सोमनानले राहत रकम २ सय ६० रुपैयाँ मात्रै पुर्‍याए । ‘गाउँपालिकाबाट नै राहत रकम दिने व्यवस्था नभएकाले अग्नि, बाढी, चट्याङलगायत दैविक प्रकोपपीडित थप पीडामा पर्ने गरेका छन्,’ कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले भने, ‘जिल्ला प्रशासनले गाउँपालिकामा उक्त राहत रकम उपलब्ध गराउने व्यवस्था गरेमा सहजै राहत रकम पाउने थिए ।’


राक्सिराङ गाउँपालिका–७ का अग्निपीडित नरबहादुर चेपाङले पनि राहत रकमको तीन सय रुपैयाँमात्र घर पुर्‍याएका थिए । उनीहरूले फजुल खर्च गरेर होइन, आउजाउ र सामान्य खानपिन गर्दै रकम सकेका हुन् । ‘शब्दमा मात्र राहत छ,’ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘व्यवहारमा आहत खेपेका छन् ।’


जिल्ला प्रशासन कार्यालयमा गठित जिल्ला विपद् व्यवस्थापन समितिले दैवी प्रकोप पीडितलाई राहत रकम दिने गरेको छ । समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । गाउँपालिकामा पनि विपद् व्यवस्थापन समिति गठन गरिएको छ । ‘सम्बन्धित गाउँपालिकाको समितिमार्फत राहत रकम उपलब्ध गराउन सके पीडितहरूले थोरै भए पनि राहत पाउने थिए,’ प्रजिअ भट्टले भने, ‘यसका लागि प्रक्रिया सुरु गर्दै छु ।’


जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले चालू आवको ५ महिनामा अग्निपीडित १२ जनालाई १ लाख २० हजार र बाढीबाट घर भत्केका ४२ जनालाई ४ लाख २० हजार रुपैयाँ राहत रकम उपलब्ध गराएको छ । घर जलेको र बाढीले भत्काएको प्रतिघरधुरी १० हजार रुपैयाँ राहत रकम दिने व्यवस्था छ । यसैगरी, बाढीले बगाएका ८ मृतकका परिवारलाई ८ लाख र चट्याङ परेर मृत्यु भएका २ जना मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालू आवको साउनदेखि मंसिरसम्म जिल्ला प्रशासन कार्यालयले ६४ जना दैवी प्रकोप पीडितलाई १५ लाख ४० हजार रुपैयाँ वितरण गरिसकेको छ ।

प्रकाशित : पुस ९, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?