कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरान–चतरा सडक आयोजना : आधा दर्जन स्थानमा अवरोध 

सुवास विडारी

(मकवानपुर) — निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक (मदन भण्डारी राजमार्ग) अन्तर्गत मकवानपुर र सिन्धुलीका सात स्थानमा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।

मुआब्जा, भूबनोट, अदालतबाट निषेधज्ञा जारी तथा स्थानीयको विभिन्न मागका कारण करिब १७ किलोमिटर सडकको काम अगाडि बढ्नै सकेको छैन । राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली खण्डमा ११५ किमि सडक पर्छ । सडक कालोपत्रे ०७७ साउन १६ भित्र सक्ने निर्माण कम्पनी कालिका/स्वच्छन्द/राम्केन जेभीसँग सम्झौता रहेको छ ।


हेटौंडास्थित आयोजनाका सूचना अधिकारी केशव ओझाका अनुसार मुआब्जाका कारण सिन्धुली धुराबजारदेखि खट्टारसम्म ६ किमि, सिन्धुलीको खार खोलादेखि अठुवा खोलासम्म दुई किमि, सिन्धुलीकै हाक्पारामा भूबनोटका कारण दुई किमि, फास्ट ट्र्याकसँग जोडिएको स्थानमा दुई किमि, अदालतको निषेधाज्ञा जारी गरेका कारण नलाग्दा हेटौंडाको चिसापानीदेखि चौघडासम्म ४ किमि तथा सिन्धुली र मकवानपुर जोड्ने वाग्मती खोलाको पुल नबन्दा करिब एक किमि क्षेत्रमा काम नै सुरु गर्न सकिएको छैन । मुआब्जा कारण काम नभएको मकवानपुर–सिन्धुलीको धेरै स्थानमा आयोजनाले मुआब्जा वितरण गरिसके पनि अन्य स्थानमा बाँड्ने तयारी भइरहेको छ । मकवानपुरको बकैया र वाग्मती, सिन्धुलीको हरिहरपुरगढी र मरिन गाउँपालिकामा मुआब्जा वितरण गरिसकेको छ । मकवानपुरमा ८ करोड र सिन्धुलीमा करिब ५ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । हेटौंडाको १६, १७ र १८ वडाको मुआब्जा वितरण तयारी अन्तिम चरणमा छ । आयोजनाका अनुसार हेटौंडा–सिन्धुली खण्डमा एक हजार परिवारलाई मुआब्जा वितरण गरिनेछ । बाँकी मुआब्जाका लागि २४ करोड रुपैयाँ वितरण गर्न मकवानपुर र सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको उनले जनाए ।


आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘आयोजनाको भौतिकतर्फ ७५ प्रतिशत र वित्तीयतर्फ ५५ दशमलव ९६ प्रतिशत काम सकिएको छ,’ आयोजनाका प्रमुख राजेश पौडेलले भने । उनका अनुसार सिन्धुली–हेटौंडा सडक खण्डमा पुल निर्माणको काम जेडआईसीसी/अनक/लुम्बिनी जेभीले भ्याटसहित २ अर्ब ९९ करोड रुपैयाँमा ठेक्कामार्फत् काम गरिरहेको छ । कालिका/स्वच्छन्द/राम्केन जेभीले भ्याटसहित ७ अर्ब १० करोड रुपैयाँमा ठेक्का पारेर ०७३ कात्तिकदेखि सडक निर्माण थालिसकेको छ । ‘सडक दायाँबायाँ पर्खाल लगाउने काम ९० प्रतिशत सकिएको छ । सडक कालोपत्रे ०७७ साउन १६ भित्र सकाउने निर्माण कम्पनीसँग सम्झौता छ,’ उनले भने, ‘अहिलेकै गतिमा काम हुने हो भने समयमै सकिन्छ । धरान–चतरा–गाईघाट– कटारी– सिन्धुली– हेटौंडासम्मको काम थालिए पनि अहिले झापादेखि डडेलधुरासम्म १२ सय ५० किमिमा सडकलाई विस्तार गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडाले जनाएको छ ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?